काठमाडौँ । आफूलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्र र शान्तिवादी देश दावी गर्ने भारतले अन्तरद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) को सफल परीक्षण गरेको छ । भारतीय समाचार संस्थाहरुका अनुसार भारतले अग्नी–५ नामक क्षेप्यास्त्र परीक्षण गरेको हो । उक्त क्षेप्यास्त्रलाई यही जनवरी २६ का दिन तामझाम र सैन्य प्रदर्शन सहित मनाइने गरेको गणतन्त्र दिवसमा समेत प्रदर्शन गरिने संभावना रहेको बताइएको छ ।
अग्नी–५ ब्यालेस्टिक क्षेप्यास्त्रलाई भारतको सबैभन्दा उच्च क्षमता र प्रविधियुक्त जमिनबाट जमिनमा प्रहार गर्न सकिने क्षेप्यास्त्रको रुपमा लिइएको छ । सो क्षेप्यास्त्रको बिहिबार स्थानीय समय अनुसार बिहानको ९ः५३ मिनेटको समयमा उडिसाको डा. अब्दुल कलाम द्वीपबाट परीक्षण प्रक्षेपण गरिएको थियो ।
क्षेत्रप्यास्त्र परीक्षणलाई परियोजनाका निर्देशक जी. रामागुरु र कार्यक्रम निर्देशक एम.आर.एम. बाबुले स्थलगत रुपमै अनुगमन गरेका थिए । क्षेप्यास्त्रको सम्पूर्ण प्रक्षेपण प्रक्रिया र उडानका गतिविधिलाई राडारहरु, रेन्ज स्टेसनहरु र अनुगमन (ट्याकिङ) प्रणालीको माध्यमले अवलोकन गरिएको थियो ।
भारतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाए अनुसार यो प्रक्षेपण सो क्षेप्यास्त्रको पाँचौ परीक्षण भएको र घुम्ती स्थल प्रक्षेपक यन्त्रको माध्यमबाट गरिएको तेस्रो सफल परीक्षण भएको थियो । मिसनका सम्पूर्ण लक्ष्य तथा उद्देश्यहरु हरु हासिल भएको कुरा विज्ञप्तीमा उल्लेख छ ।
आम नरसंहारकारी परमाणु हतियार बोक्न सक्ने अग्नी–५ क्षेप्यास्त्रले १९ मिनेटमा ४,९०० किलोमिटर दुरी पार गरेको थियो । यसले ५,००० किलोमिटरसम्म मार हान्न सक्ने क्षमता राख्ने बताइएको छ, जुन भारतको सबैभन्दा लामो दुरी पार गर्न सक्ने क्षेप्यास्त्र हो । भारतले यसलाई आफ्नो प्रतिरक्षा क्षमताको मुख्य परीक्षणका रुपमा लिएको छ ।
पाकिस्तानसँग तनाव चुलिएको र चीनसँग भर्खरै मात्रै दोख्लाम घटना घटेको बेला भारतले गरेको यो क्षेप्यास्त्र परीक्षणलाई अर्थपूर्ण रुपमा लिइएको छ । अमेरिकी वैज्ञानिकहरुको संस्था फेडेरेसन अफ अमेरिकन साइन्टिस्टस्का अनुसार भारतसँग १२० देखि १३० सम्म विभिन्न परमाणु अस्त्रहरु हुन सक्ने संभावना छ ।
सन् २०१७ मा अमेरिका, रुस, चीन लगायतका देशहरुले ब्यालेस्टिक मिसाइलको परीक्षण गरेका थिए । तर प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले यस्तै अन्तरमहाद्वीपीय क्षेप्यास्त्र परीक्षण गरेको आरोपमा उसलाई पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधी तथा अत्यावश्यक सबै प्रकारका सामग्रीहरुको आयात र निर्यातमा प्रतिवन्ध लगाइएको छ ।
के साम्राज्यवादी अमेरिकाले आफ्नो सहयोगी शक्तिको रुपमा रहेको एउटा पुँजीवादी देश भारतमाथि पनि उत्तर कोरियालाई जस्तै नाकावन्दीको प्रस्ताव गर्ला ? के संयुक्त राष्ट्र संघले भारतमाथि आर्थिक तथा सैन्य प्रतिवन्ध लगाउने निर्णय गर्न सक्ला ?
भारत संसारको सबैभन्दा धेरै भोकमरीग्रस्त नागरिकहरु भएको देश हो । विभिन्न अध्ययनहरुले देखाए अनुसार भारतभर करिब ४० करोड मानिसहरु दैनिक दुई छाक राम्ररी खान नपाउने अवस्थामा छन्, ती मध्ये २० करोड अति गम्भीर अवस्थामा छन् ।
आर्थिक अभाव देखाउँदै भारत सरकारद्वारा मुस्लिम हजयात्रीहरुलाई दिइँदै आएको अनुदान भर्खरै मात्रै कटाइएको छ । सोही कारण देखाउँदै सरकारी विद्यालयहरुलाई दिएको अनुदानमा ठूलो रुपमा कटौती गरिएको छ ।
करोडौँ मानिसहरुलाई भोकमरीको शिकार बनाउँदै भारतले किन यस्ता क्षेप्यास्त्रहरु निर्माण र परीक्षण गर्नु परेको हो ? के आफूलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्र दाबी गर्ने भारत, आफूलाई संसारको सबैभन्दा पुरानो लोकतन्त्र मान्ने संयुक्त अधिराज्य र आफूलाई संसारको सबैभन्दा विकसित लोकतन्त्र र विश्वभरको लोकतन्त्रको ठेकेदार सम्झने अमेरिकाले यसबारे केही जवाफ दिन सक्लान् ?
के उत्तर कोरियाले निर्माण गर्ने आणविक हतियारहरु आम नरसंहारकारी हुने तर भारत लगायतका अन्य देशहरूले निर्माण गर्ने हतियारहरु त्यस्ता नहुने हुन् र ? होइन भने किन दुई सार्वभौम राष्ट्रहरुमाथि फरक फरक व्यवहार गरिन्छ ? के संयुक्त राष्ट्र संघले निष्पक्ष भूमिका खेल्न सक्ला ? के यो संस्था अमेरिकी साम्राज्यवादको कठपुतली मात्रै भएको आरोप गलत सिद्ध होला ? संसारभरका आम जनसमुदायले यही प्रश्न उठाइरहेका छन् र जवाफको प्रतीक्षामा छन् ।