काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन हुनु भएकाे छ ।
आज पार्टी अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलकाे बैठक बस्याे र बैठकमा संसदीय दलको नेता तथा संसदमा खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल भयाे । बैठकमा समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
बैठकमा संसदीय दलको नेता चयनका लागि सांसद कृष्णबहादुर महराले अध्यक्ष क. प्रचण्डको नाम प्रस्ताव गर्नुभएको थियो भने सांसद क. गिरिराजमणी पोखरेलले समर्थन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सांसद क. कृष्णबहादुर महराले गर्नुभएको थियो ।
कार्यक्रममा संविधान जारी भइसकेपछि पहिलोपटक गठन भएको व्यवस्थापिका संसदमा माओवादी केन्द्रका सांसदहरुले खेल्नुपर्ने भूमिकाका बारेमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नु भएको थियो ।
अध्यक्ष प्रचण्डले माओवादी परम्परवादी संसदीय दल नभएको, अरु देशका संसदीय व्यवस्था र हाम्रो संसदीय व्यवस्था फरक रहेकोले समाजवादी समाज र समृद्ध नेपालका पक्षमा संसदमा भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।
अध्यक्ष प्रचण्डले संसदीय मोर्चालाई समेत युद्धकै एउटा स्वरुपका रुपमा लिएर भूमिका खेल्नु जोड दिनुभयो । “यो जनताका पक्षमा रक्तपातविहिन युद्ध हो, यसलाई खाली परम्परावादी संसदको रुपमा नलिनुहोला, जनताले हामीबाट परिवर्तनका पक्षमा धेरै आशा गरेका छन्, त्यही अनुरुप भूमिका निर्वाह गर्नुहोला ।” अध्यक्षले भन्नुभयो ।