प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. केपी शर्मा ओलीले एकीकरण पश्चात बनेको किसान संगठन देशको समग्र कृषि नीति, कार्यक्रम र योजना बनाउन सक्ने र पार्टीलाई दिन सक्ने खालको हुनुपर्ने कुरा बताउनु भएको छ भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले एकीकृत किसान महासंघ कृषि उत्पादन र कृषि क्रान्तिको नायक बन्नु पर्ने बताउनु भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को बीचमा एकता गर्न बनेको कार्यदलको प्रतिवेदन बुझ्ने क्रममा कार्यदललाई धन्यवाद दिँदै अध्यक्षद्वयले सो कुरा बताउनु भएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले भन्नुभयो – “किसान संगठनले कृषि क्षेत्र सम्बन्धी सम्पूर्ण नीति, कार्यक्रम र योजनाहरु बनाउन सक्नुपर्छ र पार्टीलाई दिन सक्नुपर्छ । पार्टीले ती नीति, कार्यक्रम र योजनाहरु ग्रहण गर्दै सरकार मार्फत लागू गर्दछ । अब हामी आफ्ना नीतिहरु आफ्नो संगठनभित्र मात्रै नभएर मुलुकमा नै लागु गर्ने अवस्थामा छौँ । यो कुरा बुझ्न सक्ने मान्छे किसान संगठनमा हुनु पर्दछ । अब हामीले पुरानो शैली परिवर्तन गर्नुपर्दछ ।”
उहाँले थप्नु भयो – “अब किसान संगठनमा वास्तविक किसानहरु संगठित हुनुपर्छ । कृषि र किसानहरुको वास्तविकताबारे जान्ने, बुझ्ने, कृषि क्षेत्रको राम्रो ज्ञान भएका र कृषि उत्पादनमा संलग्न भई अरुलाई समेत प्रेरणा दिन सक्ने मानिसहरु मात्रै किसान संगठनमा संगठित हुनुपर्छ । बैठकमा उपस्थित हुने र कोरम पुराउन मात्रै काम लाग्ने तर कृषि उत्पादन वा कृषि प्रविधिसँग नजोडिएका मानिसहरुलाई किसान संगठनमा संगठित गर्नुको कुनै औचित्य छै्रन ।”
सोही कार्यक्रममा कार्यदललाई आफ्नो जिम्मेवारी समयमा नै पुरा गरेकोमा धन्यवाद दिँदै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले भन्नुभयो “अब एकीकृत किसान संगठन कृषि उत्पादन र कृषि क्रान्तिको नायक बन्नु पर्छ ।” उहाँले थप्नुभयो “अब किसान संगठनले उत्पादनका लागि संघर्षको नेतृत्व गर्नुपर्छ । अब हाम्रो कार्यभार कृषिको व्यावसायीकरण, औद्योगीकरण, सहकारीकरण र सामुहिकीकरण गर्दै कृषि क्षेत्रलाई समाजवादीकरणको दिशामा लैजाने हो र पार्टीको तर्फबाट त्यसको समग्र नेतृत्व किसान संगठनले गर्नु पर्छ । एकीकृत किसान संगठन त्यसका लागि सक्षम हुनुपर्छ ।”
“देशको दुई तिहाई जनसंख्या किसान रहेको देशका किसान संगठनको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहने” बताउँदै उहाँले भन्नु भयो, “कार्यदलले सबै कुराहरुमा सहमति गरेर ल्याएको भए साह्रै राम्रो र नेतृत्वलाई सजिलो हुने थियो । तर जति कुराहरुमा सहमति गरेर आउनु भएको छ, त्यो पनि आफैमा महत्त्वपूर्ण छ ।”
पार्टीले बनाएको कार्यदलमा क. बामदेव गौतम, क. हरिबोल गजुरेल, क. चित्रबहादुर श्रेष्ठ र क. केशवलाल श्रेष्ठ हुनुहुन्थ्यो । कार्यदलले शुक्रबार आफूले गरेका सम्पूर्ण कामहरुको विवरण सहितको प्रतिवेदन, बैठकहरुको माइन्युट, एकीकृत किसान महासंघको प्रस्तावित राजनीतिक दस्तावेज र अन्तरिम विधान अध्यक्षद्वयलाई हस्तान्तरण गरेको थियो । कार्यदलले क. केशवलाल श्रेष्ठ र क. सेसुराम भण्डारी रहेको राजनीतिक दस्तावेज मस्यौदा समिति एवम् क. नहेन्द्र खड्का र क. बाबुराम थापा रहेको विधान मस्यौदा समिति बनाएको थियो ।
स्रोतका अनुसार दुई किसान महासंघको एकता पश्चात संगठनको नाम अखिल नेपाल किसान महासंघ रहने, झण्डा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले प्रयोग गर्ने गरेको रातो पृष्ठभूमिमा हँसिया तारा अंकित हुने र प्रतीक चिन्ह (लोगो) तथा छाप मिश्रित खालको हुने निर्णय भएको छ । त्यसरी नै दुवै पक्षबाट १७५–१७५ जना रहने गरी केन्द्रीय समिति, ९९ जनाको केन्द्रीय सचिबालय समिति र संयोजक १, सहसंयोजक १ सहित ९ जनाको केन्द्रीय कार्यालय रहने निर्णय भएको छ ।
संगठनको केन्द्रीय निकायको नाम (राष्ट्रिय समिति वा संघीय समिति) राख्ने र संगठनको मातहत समितिहरुलाई कार्यकारी बनाउने वा समन्वय (अधिकार बिहीन र कामचलाउ) समिति बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । समाचार सुत्रका अनुसार माओवादी पक्ष केन्द्रीय निकायकासाथै प्रदेश र स्थानीय निकायका सबै संरचनाहरुलाई संघीयताको मर्म अनुसार कार्यकारी र अधिकार सम्पन्न बनाउने पक्षमा छ भने एमाले पक्ष केन्द्रीय निकायलाई मात्रै कार्यकारी बनाउने र अन्यलाई समन्वय समितिमा मात्रै सिमित राख्ने पक्षमा छ भने नेतृत्वको विषयमा कुनै सहमति हुन सकेको छैन ।
कार्यक्रमका केही झलकहरूः
यो पनि पढ्नुहोस्ः ओली सरकारका उपलब्धिहरू सार्वजनिक, जनतामा नयाँ आशाकाे सञ्चार
यो पनि पढ्नुहोस्ः धनी र गरिबबिचको खाडल अन्त्य नै हाम्रो लक्ष्य हाे – अध्यक्ष प्रचण्ड
यो पनि पढ्नुहोस्ः नेपाल नवनिर्माण महाअभियान – क. बामदेव गाैतम
यो पनि पढ्नुहोस्ः किसान सहिद भीमदत्त पन्त र किसान विद्रोह क. चित्रबहादुर श्रेष्ठ
यो पनि पढ्नुहाेस्ः अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) – एक संक्षिप्त परिचय