काठमडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले माघे (मकर) संक्रान्ति र माघीको उपलक्ष्यमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, “थारु, मगरलगायतका आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व एवम् नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति/माघ पर्व/माघे सकराती–२०७५ को पावन अवसरमा समस्त थारु, मगर समुदाय एवम् सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, भन्नु भएको छ ।
सन्देशमा उहाँले यस पर्वले सबै जातजाति, समुदाय र नेपालीमाझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको समेत बताउनु भएको छ ।
“हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता, सामाजिक, साँस्कृतिक विविधता मिलेर बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हो । हाम्रो संविधानले सबै जातजाति, भाषा, धर्म, वर्ग, समुदाय र संस्कृतिलाई समान अस्तित्वका रुपमा स्वीकार गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ”, भन्दै उहाँले “यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ ।”
“थारु समुदायले माघ पर्वको रुपमा, मगर समुदायले माघे सकराती र देशभरका आम नेपालीले माघे संक्रान्तिका रुपमा मनाउने यो पर्व शब्दका हिसाबले फरक–फरक जस्तो लागे पनि आ–आफ्नो समुदायमा उत्तिकै महत्वका साथ मनाइन्छ । थारु, मगरलगायतका आदिवासी जनजाति समुदायले यो पर्वलाई नयाँ आर्थिक वर्षको रुपमा पनि मनाउने गर्दछन् । विभिन्न समुदायले आ–आफ्नो अनुकुलतामा मनाउने यो पर्वले आपसी सद्भाव, सहिष्णुता र एकताको विकास गर्नुका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको छ”, उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।