बोलिभारियन गणतन्त्र भेनेजुयलाको राजनीतिक परिस्थिति र अमेरिकी हस्तक्षेपबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो धारणा सार्वजनिक गर्दै सोबारे अध्यक्ष प्रचण्डको विज्ञप्ति नै पार्टीको आधिकारिक धारणा भएको स्पष्ट गरेको छ ।
सोमवार राजधानीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
पार्टीका महासचिव विष्णु पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भेनेजुएलामा विकसित भएको घटनाक्रमप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।
विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धको प्रश्नमा पार्टीभित्र कुनै अन्योल र द्विविधा नभएको भन्दै विज्ञप्तिमा विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धबारे पार्टीका दृष्टिकोण र नीति स्पष्ट र स्थिर भएको उल्लेख छ ।
पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने भन्दै विज्ञप्तिमा कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै प्रकारको समस्या पैदा भएमा त्यसै देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्ने धारणा उल्लेख छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामा बढ्दै गएको अमेरिकी हस्तक्षेपको कडा शब्दमा विरोध र जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको समर्थन गर्दै गत साता नेकपाको तर्फबाट विज्ञप्ति जारी गर्नु गर्नुभएको थियो ।
देशभित्र र बाहिर एवम् पार्टीभित्र र बाहिरका अमेरिकापरस्त तत्वहरुले अध्यक्ष प्रचण्डको सो विज्ञप्तिको आलोचना गरेका थिए भने त्यसबारे पार्टीमा विवाद भएको, त्यसले सरकारलाई अप्ठरयारोमा पारेको, सोही विषयलाई लिएर पार्टीभित्र दुई अध्यक्षको बिचमा समेत मनमुटाव भएको र नेकपाभित्र ध्रुवीकरण भएको भन्ने जस्ता कपोलकल्पित र निराधार भ्रमहरु छरेका थिए ।
नेकपाको यो निर्णय अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने संशोधनवादी र प्रतिक्रियावादीहरुका लागि दह्रो झापड हुन पुगेको छ भने नेकपाले आफूलाई एउटा अन्तर्राष्ट्रवादी समाजवादी शक्तिको रुपमा उभ्याउन सफल भएको छ ।