Sabhamukh Krishna BahaJo Yong Man, HE Ambassador of DPRK to Nepal
 

काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) का नवनियुक्त राजदूत जो योङ मानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आइतबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मनले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटका अवसरमा सभामुख महराले नेपाल–प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) बीचको कूटनीतिक सम्बन्ध साढे चार दशक पुगिसकेको चर्चा गर्नुहुँदै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र सुमधुर रहेको बताउनुभयो ।

नयाँ राजदूतको रुपमा नेपाल आउनुभएका मनलाई स्वागत गर्नुहुँदै सभामुख महराले नेपालका लागि कोरियाली राजदूतको रुपमा कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

विश्व शान्ति स्थापनाका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँको नेतृत्वले थालेको वार्ता, संवाद र कूटनीतिक पहल निकै सह्रानीय रहेको भन्दै सभामुख महराले विश्व शान्तिको अभियानमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँका सर्वोच्च कमाण्डर उनको कुशल पहलकदमीबाट विश्व शान्तिका लागि गरिएको प्रयास निकै सह्रानीय छ, सभामुख महराले भन्नुभयो, ‘आफ्नो लक्ष्यमा दृढ रही विश्व शान्तिका लागि थालिएको पहलकदमी सफल हुनेमा म विश्वस्त रहेको छु । विश्व शान्तिका लागि डिपिआरकेको पहल निकै प्रशंसनीय छ ।’

संघीय संसदले नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच संसदीय मैत्री समूह गठनका लागि गृहकार्य गरिरहेको भन्दै सभामुख महराले दुई देशबीचका सांसदहरुको मैत्री समूह गठनले दुई देशबीचको राजनीतिक सम्बन्ध बिस्तार र अनुभव आदान प्रदानमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

सभामुखसँगको भेटमा नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ठ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र मार्सल किम जोङ उनले आफ्नो देशलाई समाजवादी अर्थतन्त्र विकास गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम गर्ने रणनीतिक लक्ष्य रहेको भन्दै राजदूत मनले समाजवाद, कोरिया एकीकरण र विश्व शान्ति सफल हुनेमा मार्सल ऊन विश्वस्त रहेको बताउनुभयो ।

कोरियाका केही शहर र नेपालका केही शहरहरु भगिनी शहरको रुपमा रहेको भन्दै राजदूत मानले नेपालको हाइड्रो, कृषिलगायतका क्षेत्रमा आफूहरु लगानी गर्न इच्छुक रहेको समेत बताउनुभयो ।

भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहर भट्टराई, सचिव भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

र, यो पनिः अध्यक्ष प्रचण्डसँग उत्तर कोरियाली राजदूत मानको शिष्टाचार भेट

तस्बिरहरु: शिष्टाचार भेटका क्रममा सभामुख महरासँग नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका नवनियुक्त राजदूत जो योङ मान सभामुख कार्यकक्ष सिंहदरबारमा:

Sabhamukh Krishna BahaJo Yong Man, HE Ambassador of DPRK to Nepal Sabhamukh Krishna BahaJo Yong Man, HE Ambassador of DPRK to Nepal