डडेलधुरा, प्रधानमन्त्री केपी शर्मा ओलीले डडेलधुराको स्याउलेमा निर्माण गरिएको सब–स्टेसनको उद्घाटन गर्नुभएको छ । मंगलबार डडेलधुरा स्थित अमरगढी नगरपालिका वडा नं. १ दुधकाँडेमा अवस्थित स्याउले सब-स्टेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुदूपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु हुने घोषणा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सब-स्टेसनको निर्माणले सुदूरपश्चिमको विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । आफ्नो पहिलो कार्यकालमा सबस्टेसनको ठेक्का प्रक्रिया सुरु भएको स्मरण गर्दै ओलीले ७५० मेगावाटको पश्चिम सेती आयोजना पनि आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो – ‘विद्युत् नपुगेको क्षेत्रमा पनि व्यापक रुपमा विद्युतीकरण गर्ने छौं ।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको स्याउले सब–स्टेसन नेपाल सरकारको लगानीमा निर्माण भएको हो ।

सब-स्टेसन संचालनमा आएसंगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत यहीं मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ । यसले त्यस क्षेत्रको विद्युत विकासका लागि सहज वातावरणको निर्माण हुनेछ ।

उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सब-स्टेसनको निर्माणले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण पूर्वाधार तयार गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “यस क्षेत्रमा अध्ययन, निर्माणाधीन तथा निर्माणको चरणमा जान लागेका आयोजनाबाट उत्पादनहुने विद्युत वितरण गरी खपत गर्न नसकेकोलाई अन्य क्षेत्रमा लैजान सक्ने पूर्वाधार क्षमता तयार भएको छ।”

‘पश्चिम सेतीलाई अगाडि बढाउन अहिले लगानीबोर्डमा छलफल भइरहेको र यस क्षेत्रका जनताको भावनालाई समेटेर पश्चिम सेती उपयुक्त लगानी मोडलमा तत्काल निर्माणमा लैजान ऊर्जा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पुनको जिकीर थियो । दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउले सबस्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, वैतडी र अछाममा बितरण भइरहेको छ ।

यसअघि नेपाल विद्युत प्राधिकरणले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्याई फेरि करिब एक सय किलोमिटर ३३ केभी फिडर मार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो ।