कपिलवस्तु, (बुद्धभूमी) भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार एउटा निश्चित गुरुयोजनाका साथ अगाडि बढ्ने बताउनुभएको छ ।
शुक्रवार कपिलबस्तुमा आयोजित दोस्रो बुद्धभूमी कृषि, व्यापारिक, सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले समृद्धिको कार्यक्रमहरु अगाडी बढाउन सम्भाव्यताको अध्ययन गरेर एउटा निश्चित गुरुयोजनाका साथ अगाडी बढ्ने बताउनुभएको हो ।
सरकारले गति लिइदिए हुन्थ्यो, छिटो काम गरिदिए हुन्थ्यो भन्ने सबैको चाहना भएको भन्दै मन्त्री अर्यालले सरकारले बिस्तारै गति लिँदै समृद्धिको नेतृत्व गर्दै अगाडी बढिरहेको धारणा राख्नुभयो ।
जनताले अहिले सरकारको कामलाई जाँच गरिरहेको भन्दै मन्त्री अर्यालले सरकार अब मृगको गतिमा अगाडी बढ्ने उल्लेख गर्नुभयो । ‘सरकार सुखी नेपाली र समृद्ध नेपाल बनाउने उद्देश्य बोकेर अगाडी बढिरहेको छ । विकास र समृद्धि सरकारको एकमात्र चाहना हो’, मन्त्री अर्यालले भन्नुभयो, ’तपाइहरुले चिन्ता नगर्नुस् सरकार मृग गतिमा अगाडी बढ्छ ।’
१६५ वटा कानुन संघियतासँग जोडेर निर्माण गर्नु भनेको सानो कुरा नभएको भन्दै मन्त्री अर्यालले सरकार संघीय संरचनामा गएको र नयाँ अभ्यासमा केही समय खर्च भएको बताउनुभयो । सरकारले अहिले ती कुराहरु व्यवस्थित गर्दै आएको भन्दै मन्त्री अर्यालले कर्मचारी समायोजना लगायतका कार्यहरु सम्पन्न गरेको बताउनुभयो ।
दिगो विकास, समृद्धिसँग जोडेर धेरै महत्वपुर्ण कार्यक्रमहरु सरकारले घोषणा गरेको भन्दै मन्त्री अर्यालले संविधानमा लेखिएका कुराहरु जनताले उपभोग गर्न पाउने बर्षका रुपमा ०७५ साललाई सरकारले अगाडी बढाएको बताउनुभयो । ठूला मेगा प्रोजेक्ट सञ्चालन र सम्झौता गर्ने कार्यक्रम, हिजो बन्द भएका छिमेकी मुलुकका नाकाहरु खोल्ने प्रयत्नलाई पनि सानो मान्न नहुने उहाँको भनाइ थियो ।
सरकारले पानी जहाजको कार्यालय उद्घाटन गरेको सन्दर्भ जोड्दै मन्त्री अर्यालले पानीजहाज, रेल, गाउँ जाने बाटो सबै कुरा आवश्यक भएको बताउनुभयो । ठूलो चिज चाहिएन सानो कुरा चाहियो भन्ने कुरा नहुने भन्दै मन्त्री अर्यालले सानो देखि ठूलो काम गर्दै सरकार अगाडी बढेको बताउनुभयो ।
जलमार्गबाट त्रिदेशीय व्यापार तथा अन्य मुलुकहरुबीचमा व्यापार गर्न सक्ने भन्दै मन्त्री अर्यालले नेपाल सरकारले जलमार्गबाट विदेशी व्यापार गरिने बताउनुभयो । केहीले प्रधानमन्त्री केपी शर्मा ओलीले हावाका ठूला कुरा गरिरहेको छ भनेर हल्ला गरिएको भन्दै मन्त्री अर्यालले सानादेखि ठूला कुरा नगरिकन विकास गर्न नसकिने बताउनुभयो ।
नेपालले अब विकास गर्न सक्ने भन्दै मन्त्री अर्यालले यहाँ रहेका हरेक स्रोतसाधनलाई ठिक ढंगले परिचालन गरेमा जुनसुकै विकसित मुलुक भन्दा कम हुन नसक्ने बताउनुभयो । त्यसका निम्ती पहिलो नम्बरमा उर्जाशील जनशक्तिलाई, दक्ष जनशक्तिलाई विदेश पठाएर समृद्धिको सपना पुरा गर्न नसकिने बताउनुभयो ।
प्रत्येक परिवारबाट कम्तिमा पनि एकजना रोजगारीमा हुनुप¥यो भनेर सरकारले रोजगार कार्यक्रमको घोषणा गरेको भन्दै गत वर्षको तुलनामा यो साल युवाहरु विदेश जाने संख्या घटिसकेको समेत मन्त्री अर्यालले बताउनुभयो ।
युवा, महिलाहरुलाई उद्यमी बनाएर गाउँमै रोजगारी सिर्जना गर्नतर्फ लाग्नुपर्ने मन्त्री अर्यालले बताउनुभयो । पाँच वर्षसम्म केपी ओली सरकारले काम गर्न पाएमा विकास र समृद्धिले छलाङ बताउनुभयो । केहीलाई यही कुराले तनाब दिएको भन्दै अर्यालले विकास र समृद्धिको कुरामा यो पार्टी र त्यो पार्टी भनेर लाग्न नहुने बताउनुभयो ।
कपिलवस्तुको नोमुरे सिँचाई आयोजना अगाडी बढ्न सक्ने हो भने कपिलवस्तु मुलुककै समृद्धिको आधार बन्न सक्ने भन्दै मन्त्री अर्यालले कपिलवस्तुको आवश्यकता पुर्ती गर्ने नभएर छिमेकी जिल्लासँगै छिमेकी मुलुकमा समेत सेवा पु¥याउन सक्ने बताउनुभयो । यसलाई अगाडी बढाउन सरकारले सहयोग गर्ने बताउनुभयो ।
भूमीसम्बन्धी सरकारले क्रान्ति गर्न खोजिरहेको भन्दै अर्यालले भूमी सम्बन्धमा अहिलेसम्म जेजति समस्या, बेथिती भए ति सबैलाई समाधान गर्नेगरी काम अगाडी बढाएको बताउनुभयो । सरकारले पहिलोपटक भू उपयोग नीति अगाडी बढाएको भन्दै उहाँले आफ्ना उद्योग, कृषि, वन, पर्यटन, व्यापार क्षेत्र कुन हो भनेर वर्गीकरण गर्दै कृषियोग्य भूमिलाई बाँझो नराख्नेगरी सरकारले काम अगाडी बढाएको बताउनुभयो ।
हरेक कुरालाई सधैं पुर्वाग्रह राखेर बिहे, ब्रतबन्ध, मेलापातमा पनि राजनीति गर्ने संकिर्णताबाट माथि उठ्नुपर्ने मन्त्री अर्यालले बताउनुभयो। हरेक कुरामा राजनीति गर्ने संस्कारबाट मुक्त हुनैपर्ने उहाँको भनाइ थियो । सधैं सधै बिहे, ब्रतबन्ध, मेलामा पनि राजनीति गर्ने संस्कारबाट मुक्त हुनैपर्छ। यस्ता संकिर्णता मुक्त हुनैपर्छु, उहाँले भन्नुभयो ।
नेपालमा सधैं सुकुम्बासी समस्या, भूमीहिनको समस्या नभएर अब नेपालमा सुकुम्बासी नै छैन भन्ने बनाउन सरकार लागिरहेको मन्त्री अर्यालले बताउनुभयो । भूमीहिन, सुकुम्बासीको समस्या पुनः छलफल नगर्नेगरी सरकार अगाडी बढेको छ । नेपालमा अब सुकुम्बासी नै छैन भन्ने बनाउन सरकार लागिरहेको छु, मन्त्री अर्यालले भन्नुभयो ।