स्याङ्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले जनताको जीवन बचाउने बताउनुभएको छ । आइतबार स्याङ्जामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले मान्छे बचाउन सकियो भने त्यो भन्दा ठूलो कुरा अरु केही नहुने बताउनुभयो ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहदा आफूले उक्त कार्यक्रम शुरु गरेको स्मरण गर्दै मन्त्री अर्यालले स्वास्थ्य बचाउने जिम्मेवारी सरकारको भएको बताउनुभयो । जनताको जीवन बचाउने अभियान नै स्वास्थ्य बिमा कार्यक्रमको भएको भनदै मन्त्री अर्यालले भन्नुभयो – ‘जनताको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले जनताको आवश्यकताअनुसार नयाँ स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो ।’

जनतालाई सुबिधा दिने कुराहरु शुरु गर्नुपर्ने भन्दै मन्त्री अर्यालले राज्यले दिएको सेवासुबिधाका बारेमा समेत जनतालाई जानकारी दिनुपर्ने बताउनुभयो । स्वास्थ्य बिमा शुरु भएका जिल्लामा उत्साह र गुनासा दुबै आएको भन्दै व्यवहारिक कार्यान्वयनमा केही समस्या भएको टिप्पणी गर्नुभयो ।

मन्त्री अर्यालले सेवा प्रवाह गर्ने संस्थाहरू ठिक ढंगले सञ्चालनमा नआउने लगायतका समस्या रहेको र त्यसलाई छिट्टै समाधान गरेर अगाडि बढ्ने बताउनुभयो । गाउँ गाउँसम्म सुबिधा दिन गाउँका मुकामसम्म सेवा पुर्याउनुपर्ने उहाँको भनाई थियो ।

एक फरक प्रसङ्गमा मन्त्री अर्यालले सबै खालका सेवासुबिधा र परिचय उल्लेख हुनेगरि राष्ट्रिय परिचयपत्र बनाउने तयारीमा सरकार रहेको भन्दै नक्कलीलाई रोक्नका निम्ति गरिब परिचयपत्र बितरण हालका निम्ति बन्द गरिएको जानकारी दिनुभयो । यी सबै कार्यक्रम सञ्चालन गर्न समन्वयात्मक भूमिका आवश्यक रहेको उहाँको भनाइ थियो । स्थानीय जनप्रतिनिधिलाई लक्षित गर्दै मन्त्री अर्यालले समन्वयलाई बढी भन्दा बढी जोड दिन आग्रह गर्नुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘समन्वयात्मक भूमिका आजको आवश्यकता हो । आफ्नो आफ्नो भूमिका अनुसारको काम गर्दै बाँकी कुराहरुमा समन्वय गर्दै अगाडि बढाउने हो ।’

सबैले आफ्नो भूमिका अनुसार काम गर्ने बताउदै मन्त्री अर्यालले केन्द्र सरकारको बारेमा धेरै चिन्ता नगर्न समेत आग्रह गर्नुभयो । ‘सरकारको धेरै चिन्ता नगरौ । हामी जहाँ छौ त्यही सरकार छ । सरकारले एउटा मात्रै भएपनि एउटा घरमा रोजगार होस् भनेर रोजगारमूलक कार्यक्रम शुरु गरेको छ । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम कसरी सञ्चालन गर्ने होला भनेर सरकार तयारीमा छ’, उहाँले भन्नुभयो, ‘सरकार राम्रा काममा अगाडि बढिरहेको छ चिन्ता नगर्नुस् । हिजो बोलेका कुरा घोषणापत्रमा भनेका कुरा एकै वर्षमा आउदैन पाँच वर्षका निम्ति हो ।’

हिजो निर्वाचनका बेला बोलेका कुरा एकै वर्षमा पूरा नहुने भन्दै उहाँले त्यसका निम्ति सिंगै चार वर्ष बाँकी रहेको बताउनुभयो । अर्को एक प्रसङ्गमा मन्त्री अर्यालले कर्मचारीलाई आफ्नो काममा ध्यान दिन आग्रह गर्नुभयो । कुन नेताले के बोल्यो भन्ने कुरा टिप्पणी गर्ने काम कर्मचारीको नभएको भन्दै उहाँले कर्मचारीले राजनीति नगर्न आग्रह गर्नुभयो । ‘कर्मचारी साथीहरू राजनीति कम गर्नुस् । सबैका क्षेत्र, सीमा, दायरा छन् । तपाईहरु आउनुभएको छ स्याङ्जाका जनताको सेवा गर्नुस् । तपाईहरुलाई हामी सहयोग गर्छौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘कुन राजनीतिक नेताले कहाँ के बोल्यो टिप्पणी गर्ने तपाईहरुको काम होइन । यस्ता कुरा बन्द गर्नुस् ।’

कार्यक्रममा बोल्दै नेपाल सरकार स्वास्थ बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले ३९ औं जिल्लाका रुपमा स्याङ्जामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको भन्दै यसलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । यसअघि कैलाली जिल्लाबाट स्वास्थ बीमा कार्यक्रम शुरु भएको थियो । यसअघि मन्त्री अर्यालले चापाकोट नगरपालिका ७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा चापाकोट ९ स्थित चापाकोट बचत तथा ऋण सहकारी संस्थाको बाह्रौं साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अबको ४ वर्षभित्र बृद्धभत्ता ५ हजार पुर्याउने बताउनुभएको थियो । उहाँले निर्वाचनका बेला गरिएका प्रतिवद्धता पूरा गर्नेक्रममा सरकार रहेको बताउनुभयो । ‘निर्वाचनका बेला घोषणापत्रमा लेखिएको कुराहरु हामी पुरा गर्नेछौँ, अबको ४ वर्षमा ५ हजार नपुगे बल्ल कुरा गरौँला’, उहाँले भन्नुभयो । मन्त्री अर्यालले प्रतिपक्षीलाई अनावश्यक वितण्ड मच्चाउने कार्य नर्गन आग्रह गर्दै वितण्डलाई त्यागे मात्रै विकासको बाटो बन्ने बताउनुभयो ।