धनगढी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकिकरणमा केही ढिलाइ भएको भए पनि सबै कमिटीहरुको एकता छिट्टै टुंगिंने बताउनुभएको छ । सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताको बिशेष भेलालाई बुधवार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले रोक्न नसक्ने धारणा राख्नुभयो । “वर्तमान सरकारको काम र पार्टी एकतापछि निर्माण हुने मजवुत संगठनले जनताको मन जितेर आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाइ मत दिने अवस्था आउँनेछ ”- प्रधानमन्त्री ओलीले भन्नुुभयो।
कतिपयले एउटै जंगलमा दुईटा शेर बस्न सक्दैनन् भने पनि नेकपामा दुईवटा शेर मिलेर बसेको भन्दै प्रधानमन्त्री ओलीले आफूहरु मिलेर एकताबद्ध रुपमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो – “धेरैले भन्छन् एटै जंगलमा दुईवटा शेर बस्न सक्दैनन् तर हामीले देखाइदिंउ एउटै जंगलमा दुईवटा शेर पनि मिलेर बस्न सक्छन् ।”
प्रधानमन्त्री ओलीले नेकपा एकजना प्रधानमन्त्री र तीनजना पूर्व प्रधानमन्त्री भएको पार्टी भएको हुनाले आफ्नो पार्टीमा क्षमतावान नेता भएको र यसले नै देशलाई सही दिशामा अघि बढाउने टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले अघिल्लो बर्ष देशको ढिकुटी रित्तिएकोले ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर यो आगामी बर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने बताउनुभयो।