काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गर्नुभएको हो ।

उहाँले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षती पुगेकोे बताउनुभयो । प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टी पंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभयो ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ‘ख’ बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट वहाँ विजयी हुनुभएको थियो । केही दिन अघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद वलीको ३७ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।

वहाँको पार्थिव शरिरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।

प्रदेश सभामुखको सचिवालय एक दिनका लागि बन्द

पाँच नम्बर प्रदेशका सभामुख पुर्णबहादुर घर्तीले सांसद ओलीको मृत्युले समाज र जनताका साथै प्रदेश सभालाई अपुरणिय क्षती भएको बताउनुभएको छ ।

उहाँले समाजमा पुर्याएको योगदान र प्रदेश सभामा खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै मृतक ओली प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रदेश सभा सचिवालयका तर्फवाट एक शोक विज्ञप्ती जारी गर्दै सभामुख घर्तीले शुक्रवार एकदिनका लागि प्रदेश सचिवालय बन्द गर्नुका साथै आफू कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने जानकारी दिनभएको थियो ।

दाहसंस्कार दाङमै गरिने

सांसद वलीको शवलाई उनको जन्मस्थल घर दंगीशरण गाउँपालिका वडा नं. ६ लेटार लगिएको छ।

काठमाडौंबाट हेलिकप्टरमा दाङ लगेपछि उहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि केही समय पार्टी कार्यालय राखिएको थियो ।

करिब दुईघण्टा पार्टी कार्यालयमा राखिएपछि उनको शरिरलाई घर दंगीशरण गाउँपालिका वडा नं. ६ लेटार लगिएको छ। शनिवार बिहान साढे ९ बजे स्थानीय बागरखोला किनारमा ओलीको अन्तिम दाहसंस्कार गरिने नेकपाका तुलसीपुर अध्यक्ष खुसीराम चौधरीले बताउनुभएको छ ।