चितवन, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले आफूमाथि लगाईएको आरोप प्रमाणित गर्न उपप्रमुख पार्वती शाह ठकुरीलाई चुनौती दिनु भएको छ ।
बुधवार महानगर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रमुख दाहालले महानगरपालिकाको विकास र समृद्धिमा असर पार्ने गरी उपप्रमुखले कपोकल्पित विषय उठाएर हिँडेको बताउनु भयो ।
उपप्रमुख पार्वती शाह ठकुरीले दुइ पटक पत्रकार सम्मेलन गरेर आफूमाथि आरोप लगाएपछि प्रमुख दाहालले उपप्रमुखले मिथ्या आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरेको बताउनु भयो । उहाँले भन्नु भयो ‘म र महानगरपालिकाको कर्मचारी माथि नभएका झुठा विवरण सार्वजनिक गर्दै वदनाम गर्दै हिड्नु भएको छ ।’ तथ्यहिन विषयलाई मिडियावाजी गर्दै चितवनदेखि काठमाण्डौसम्म पुगेर पत्रकार सम्मेलन गरी झुटा विषय उचालेको भन्दै प्रमुख दाहालले आरोप प्रमाणित गर्न चुनौति दिनुभयो ।
आफ्ना प्रशासकीय प्रमुखले नटेरेको भन्दै विषय उठान गर्नु भएको उपप्रमुखले पछि मेयरले अनियमितता गर्नु भयो भन्दै अफवाह फैलाउन खोजेको दाहालले बताउनु भयो । व्यक्तिगत कुण्ठा पालेर महानगरको विकासमा उहाँले असहयोग गर्न खोजेको दाहालको भनाइ छ ।
महानगरपालिकाले गरेको अनियमितता, भ्रष्टाचार, आर्थिक हिनामिना वा कुनै पनि विषयमा कमजोरी भएको भए प्रमाणसहित आएमा आफूले सजाय भोग्न तयार भएको दाहालले बताउनुभयो ।
व्यक्तिगत स्वार्थलाई लिएर प्रचारवाजी गरेको भन्दै प्रमुख दाहालले आफ्ना नातागोताका व्यक्तिलाई जागीर लगाउन नपाएको रिसमा यो सवै क्रियाकलाप भईरहेको आरोप उपप्रमुखमाथि लगाउनुभयो ।
दाहालले भन्नु भयो ‘भतिजीलाई जागिर दिन दवाव दिनु भयो, बहिनी कार्यालय सहयोगी नियुक्त गर्नु भयो, ज्वाई ड्राइभर, भतिजा स्वकीय सचिव, वहिनीको छोरीलाई नियुक्ती दिनु प¥यो भन्ने विषय थियो । यस विषयमा कुरा नमिलेपछि उहाले गलत प्रचार गर्दै हिड्नु भएको छ ।’ पत्रकार सम्मेलनमा दहालले भन्नु भयो, ‘भतिजी लाई भर्ती गर्न नपाएको झोकमा बबण्डर मच्चाउने ?’