काठमाडौं, सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज बिहिवार राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधवार बेलुकी बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।
आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । त्यसैगरी देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगहरुमा आधा घण्टा राष्ट्रिय झण्डा झुकाउने निर्णय सरकारको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले आज (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको हो।
पाथिभरा जाँदा हेलिकप्टरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी सवार थिए। मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत सातजनाको बुधबार निधन भएको हो।
क्याप्टेन प्रभाकर केसीले भिआइपीहरुको उपस्थितीमा जोखिमपूर्ण दवावमा हेलिकप्टर उडाउनु परेका कारण दुर्घटना भएको हुनसक्ने मन्त्री परिषद्ले आकस्मिक अनुमान लगाएको छ । दुर्घट्ना छानबीनका लागि सरकारले एक छानवीन समिती गठन गरेको छ ।
त्यस्तै, पछिल्लाे जानकारी अनुसार, मन्त्री अधिकारी लगायत अन्य चार जनाको शब सुकेटार बिमानस्थल ल्याईएको छ । अन्य तिन जनाको शब खराव मौसमका कारण निकाल्न सकिएको छैन ।नेपाली सेनाले रातभर घटनास्थलमा शब कुरेर बसेको छ । आज सातै शब काठमाडौं ल्याइने बताइएको छ ।
मन्त्री अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंको धुम्बाराही स्थित नेकपा पार्टी कार्यालय र टुँडिखेलमा राखिने बताईएको छ । मन्त्री अधिकारीका बुवा आमा पोखरावाट हिजै काठमाडौं आईसक्नुभएको छ । उहाँका छोरा भारतवाट आज दिउँसो ३ बजे नेपाल फर्किएपछि आजै उहाँको शब गृहजिल्ला कास्की लगिने र उतै दाह संस्कार गरिने पारिवारिक श्रोतले बताएको छ ।