काठमाडौं, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको बिहिवार टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जलीसभा स्थगित भएको छ ।
दिवंगत सातैजनाको शव पोष्टमार्टम गर्नुपर्ने र त्यसका लागि समय लाग्ने भएकाले बिहिवार तय भएको श्रद्धाञ्जलीसभा स्थगित गरिएको नेकपाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको शब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
नेकपाका महासचिव बिष्णु पौडेलले जारी गरेको बिज्ञप्तिका अनुसार श्रद्धाञ्जलीसभा भोली शुक्रबार ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमै हुने बताईएको छ ।
(हेर्नुहोस बिज्ञप्तिको पूर्ण पाठ)
प्रेस विज्ञप्ति
हिजो २०७५ फागुन १५ गते ताप्लेजुङ जिल्ला, फुङ्लिङ नगरपालिका – १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा दिवंगत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य माननीय रविन्द्रप्रसाद अधिकारी लगायत ७ जनाको पोष्टमार्टम शिक्षण अस्पताल महारजगञ्जमा भईरहेको छ । डाक्टरहरुका अनुसार पोष्टमार्टम सम्पन्न गर्न अझै केही समय लाग्ने हुनाले आज अपरान्ह ३ बजेदेखि शुरु हुने गरि निर्धारण गरिएको श्रद्धाञ्जली भोली बिहान ८ देखि ११ बजे सम्मका लागि सारिएको छ । यसबाट पर्न गएको असुविधाका लागि क्षमा चाहन्छौं ।
विष्णुप्रसाद पौडेल
महासचिव
२०७५ फागुन १६