पोखरा, हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा शुक्रवार अन्त्येष्टि गरिएको छ । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

रामघाटमा उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज अधिकारी र स्वराज अधिकारीले दागवत्ति दिनुभएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।

पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।

अन्त्यष्टिमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । शबयात्रामा सडकको दुवै पेटीमा उभिएका सर्वसाधारणले मन्त्री अधिकारीको शवमाथि पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए । शव यात्राका सहभागीले पार्टीको झुकाइएको झण्डा बोकेका थिए ।

अन्तिम श्रद्धाञ्जली पोखराको प्रदर्शनी केन्द्रमा 

त्यसअघि मन्त्री अधिकारीलाई पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको थियो । उहाँको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा र नेकपाका बरिष्ठ नेताद्धय बामदेव गौतम र नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस नेता यज्ञबहादुर थापालगायतले पनि श्रद्धाञ्जलि दिनुभएको थियो । मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि अर्पण गर्नका लागि हजारौँ सर्वसाधारण लामबद्ध थिए ।

काठमाडौंको टुँडिखेलमा राखेर पनि दिइयाे श्रद्धाञ्जली

दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर शुक्रवार बिहान ८ देखि ११ वजेसम्म अन्तिम श्रद्धाञ्जली दिइएको थियो। जनप्रिय नेतालाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेल पुगेका भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेतको बाक्लो उपस्थिती रहेको थियो ।

टुँडिखेलमा पुगेका सबैजना शोकमा थिए । त्यसमाथि आफन्तजनको रोदनले वातावरण थप भावुक बनेको थियो।

बुधवार भएको थियो दुर्घटना

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा उदयीमान नेता अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।

बिहीबार त्रिवि शिक्षण अस्पतालमा सबै शवहरुको पोस्टमार्टम गरिएको थियो । बिहिवार नै दिवंगतलाई अन्तिम श्रद्धाञ्जली दिने भन्दै टुँडिखेलमा त्यसको तयारी गरिएको थियो । तर, पोस्टमार्टम गर्दा समय लाग्ने काठमाडौंको टुँडिखेलमा गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम शुक्रवार मात्र गरिएको थियो ।

मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत अन्य भिआइपीहरु टुँडिखेल पुगेका थिए । टुँडिखेलमा सर्वसाधारणहरुको पनि उल्लेख्य उपस्थिति थियो।

प्रतिनिधिसभा र राष्ट्रिय सभाले गर्यो शोक प्रस्ताव पारित

हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको निधनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेका छन ।

शुक्रबार बसेको दुबै बैठकको प्रारम्भमै प्रतिनिधि सभामा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

दुबै सदनवाट पारित शोक प्रस्तावमा भनिएको छ, ‘लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं जनताको पक्षमा अनवरत रुपमा लाग्नु भएका विकासप्रमेमी जनप्रिय नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको ४९ वर्षको उमेरमा हेलिकप्टर दुर्घटनामा परी असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ ।’

बैठकले मन्त्री अधिकारीको आत्माको चीरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेको छ । मन्त्री अधिकारीको आत्माको चीरशान्तिको कामना गर्दै सांसदहरुले  एक मिनेट मौन धारण गर्नुभएको थियो ।

मन्त्री अधिकारी ०६० र ०७० सालको संविधानसभा र ०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । उहाँ व्यवस्थापिका संसदको विकास समितिका पूर्व सभापति समेत हुनुहुन्थ्यो ।

प्रतिनिधि सभाको अर्को बैठक शनिवार दिउँसो १ बजे र राष्ट्रिय सभाको अर्को बैठक आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ । छुट्टाछुट्टै बैठकले मन्त्री अधिकारीको निधनमा सर्वसम्मत रुपमा शोक प्रस्ताव गरेको हो ।

सात दिनमा सकिनेछ काजकिरिया

मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ ।

पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासमा उहाँको काजकिरिया ७ दिनमा सक्ने परिवारका तर्फबाट अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले बताउनुभयो ।

पोखरामा गरिएको प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताउनुभएको हो ।

मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको हुनाले काजकिरियालाई ७ दिन कायम गरेर देशभर एउटा सन्देश दिन खोजेको आचार्यले बताउनुभयो ।

अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकारीको काजकिरिया फागुन २१ गते सकिनेछ ।