भरतमोहन अधिकारी Bharat Mohan Adhikari
 

काठमाडौं । के कुनै अस्पतालले आफ्नो अस्पतालमा उपचाररत बिरामीलाई बचाउन असंभव छ भनेर पत्रकार सम्मेलन गर्न मिल्छ ? आज नेकपाका नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीलाई बचाउन सक्ने संभावना असाध्यै न्यून रहेको भनेर उहाँ उपचाररत ह्याम्स अस्पतालले बताएपछि यो प्रश्न चारैतिर उठेको छ ।

अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको जनाएको हो । उहाँलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिएको अस्पतालको भनाई छ ।

‘आजको अवस्था अनुसार उहाँको सम्पूर्ण महत्त्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएको देखिन्छ र उहाँलाई कृतिम श्वासप्रश्वासका लागि भेन्टिलेटरमा राखिएको छ ।’ अधिकारीको उपचारमा क्रियाशील डाक्टर भास्करराज पन्तले पत्रकार सम्मेलनमा भन्नुभयो – ‘रक्तचाप बढाउने औषधिको प्रयोग गर्नुपरेको छ । वितेको २४ घण्टादेखि पिसाव भएको छैन । समग्रमा हाम्रो सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ ।’

आफ्नो अस्पतालमा उपचाररत व्यक्तिबारे रोगको जानकारी र उपचारमा संलग्न चिकित्सकहरूले चिकित्साशास्त्रका स्थापित सिद्धान्त, मूल्य, मान्यता तथा आफ्नो अनुभवको आधारमा बचाउन सक्ने वा नसक्ने संभावनाबारे अड्कल गर्न सक्छन् । चिकित्सकहरुको अधिकांश अनुभव सही हुन सक्ने भए पनि कैयौँ सन्दर्भमा बाँच्न सक्ने सोचिएको व्यक्तिहरू मर्न सक्ने र मर्ने भनेर घोषणा गरिएका बिरामीहरू ठिक भएर धेरै दिनसम्म बाँचेका अनुभवहरु पनि छन् ।

बेलायतजस्तो देशमा ६ महिना मात्रै बाँच्ने भनेर घोषित गरिएका महान वैज्ञानिक स्टिफन हकिङ अरू ३० बर्ष भन्दा धेरै बाँच्नुका साथै विश्वलाई विज्ञानको क्षेत्रमा धेरै ठूलो योगदान गरे । नेपालमै पनि ३, ६ महिना अवधि तोकिएका विरामीहरू धेरै लामो समय बाँचेका अनुभवहरू सुन्न र पढ्न पाइन्छ । कैयौँ त घाटमा लगिसकेका विरामीहरू घाट वैद्यहरूको उपचारले बाँचेका थुप्रै घटनाहरू छन् ।

त्यति मात्रै नभएर, आफ्नो श्वास फेरिरहेको र रक्तचापको औषधी दिइरहेको आफन्तलाई बँचाउन नसक्ने घोषित गरिएपछि बिरामीका परिवारजनमा कस्तो मनोवैज्ञानिक प्रभाव पर्छ ? के अस्पताल र चिकित्सकहरूले त्यसबारे सोच्नु पर्दैन ? नेपालमा कोमामा गएको घोषणा गर्ने गरिए पनि हालसम्म कुनै जिवित व्यक्तिलाई बँचाउन नसकिने भनेर घोषणा गर्ने प्रचलन छैन । पूर्वमन्त्री समेत रहेका भरतमोहन अधिकारीका लागि यसरी पहिले नै बँचाउन नसकिने घोषणा किन गर्नु परेको हो ? यो गम्भीर बहसको विषय बनेको छ र बन्नु पनि पर्दछ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिका अनुसार अस्पतालले उहाँको उपचार जारी राखेको छ । नेता अधिकारी फोक्सो र मुटुमा समस्या देखिएपछि तीन सातादेखि उपचाररत हुनुहुन्छ।