काठमाडौं, सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारसँग भेट गर्नुभएको छ ।

सोमबार दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी उहाँले शेर्पा परिवारलाई सान्त्वना दिँदै धैर्यधारण गर्न आग्रह गर्नुभयो । आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उहाँको अभाव सँधै खट्किरहने बताउनुभयो ।

नेपालमा नै पाइलटहरुका लागि ट्रेनिङ सेन्टर खोल्ने विषयमा आङछिरिङ र आफूले छलफल गरिरहेको स्मरण गर्दै उहाँले भन्नुभयो – ‘दाङमा पाइलट ट्रेनिङ खोल्छु भनेर आङछिरिङले मलाई भन्नुभएको थियो, तर यो काम अधुरै रह्यो ।’

सभामुख महराले आङछिरिङकी श्रीमती, दाजु र छोरालाई कठीन परिस्थितिको सामना गर्न र धैर्यधारण गर्न अनुरोध गर्दै समवेदना व्यक्त गर्नुभएको हो ।