काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर  भयो ।

तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतसँगको ११ बुँदे सहमति धेरैका लागि ‘सरप्राइज्ड’ जस्तो बनेको छ । टिकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई जन्मकैद फैसला गरेको भोलीपल्टै बिखण्डनकारी भनेर चिनिएका सीके राउतलाई काठमाडौंमा ससम्मान विशेष कार्यक्रम गरी ११ बुँदे सहमति जारी गरेको सरकारले दिन खोजेको सन्देशलाई सर्वत्र चासोपूर्वक हेरिएको छ ।

सहमति लगत्तै राउतले आफू मुलधारको राजनीतिमा फर्किने उद्घोष गरेका छन् भने सरकारले उनको समूहलाई कुनै किसिमको अवरोध नगर्ने प्रष्ट पारेको छ । साथै पक्राउ परेका राउतका सबै कार्यकर्ताहरुको रिहाई गर्ने पनि सरकारले बताएको छ ।

को हुन सिके राउत

सप्तरीको महादेव गाउँमा जन्मिएका डा‍‍‍‍. चन्द्रकान्त राउत (सीके) अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत थिए । वैज्ञानिकको रुपमा रहेका राउत सन् २०११ को अन्त्यमा त्यहाँबाट राजीनामा दिएर राजनीति गर्नका लागि नेपाल फर्किएका थिए ।

उनले नेपाली युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभुषण लगायतका विभिन्न सम्मान प्राप्त गरेका छन् । ललितपुरको पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका राउत अमेरिकामा रहँदा गैरआवासीय मधेशी संघको संस्थापक अध्यक्ष बनेका थिए ।

जापान सरकारले दिने छात्रवृत्तिमा अध्ययन गर्न जापान गएका राउतले जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए ।

राउतले आफ्ना आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ पुस्तकमा रितिक रोशन काण्ड र इराकका आतंकवादीहरुले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा भएको दंगालाई मधेसीमाथिको दमनको रुपमा लिएको उल्लेख गरेका छन् । अमेरिकाबाट नेपाल फर्किएपछि राउतले विखण्डनको पक्षमा बोल्न शुरु गरेका हुन् ।

यस्तो छ उनको ईतिहास, हेर्नुहाेस उनका केही याेजनाहरु

स्वतन्त्र मधेश र अलग राज्यको माग उनका मुख्य माग हुन् । विखण्डनको माग गर्दै हिँडेका उनी पटक पटक पक्राउ परेका थिए । उनीविरुद्ध राज्य विप्लवको मुद्दा दायर हुने गरेको थियो । राउतलाई पश्चिमा देशहरुले नेपाल विरुद्ध प्रयोग गरेको आरोप समेत लाग्ने गरेको छ ।

सन् २००६ मा मधेस आन्दोलन शुरु हुँदा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको भन्दै ‘एलायन्स फर राइट्स एण्ड इन्डिपेन्डेन्स अफ मधेश’ को स्थापना गरेका थिए ।

यो गठबन्धनको मुख्य नारा नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ रहेको थियो । राउत नेतृत्वको समूहले आफ्नो छुट्टै झण्डा, मधेशको छुट्टै राष्ट्रियगान तयार गरेका थिए ।

तराईमा छुट्टै प्रशासनिक संरचना स्थापित गर्ने, मानवशक्ति, भौतिक पूर्वाधार तयार गर्ने, युवा दस्ता स्थापना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने, प्रहरी संरचना बनाउने, कूटनीतिक समर्थन हासिल गर्ने, तराईमा असहयोग आन्दोलन, नाकाबन्दी, सत्याग्रह, सिपाही विद्रोह, सैनिक विद्रोह, धार्मिक नैतिक क्रान्ति, सडक आन्दोलन, सीमाना बन्द, अत्यावश्यक वस्तुमा नाकाबन्दी गर्ने लगायत राउतका योजना थिए।

तराईमा छुट्टै राज्य बनाउने भनी अभियानै चलाएपछि उनलाई प्रहरीले सधैं निगरानी गरिरहन्थ्यो। पक्राउ गरी विभिन्न मुद्दा चलाउने गरेको थियो।

२०७१ मा मोरङमा पक्राउ पर्दा उनले बाँड्ने गरेको १८४ पृष्ठ लामो ‘मधेस स्वराज’ नामक किताब फेला परेको थियो। त्यसअनुसार ८–१२ वर्षसम्ममा नेपालबाट तराई अलग गराई ‘तराईमा नेपाली साम्राज्य अन्त्य गर्ने’ योजना छ।

यो योजनाअनुसार तराईमा छुट्टै प्रशासनिक संरचना स्थापित गर्ने, मानवशक्ति, भौतिक पूर्वाधार तयार गर्ने, युवा दस्ता स्थापना गर्ने, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सम्बन्ध बनाउने, प्रहरी संरचना बनाउने, कूटनीतिक समर्थन हासिल गर्नेलगायत छन्।

मधेसका सबै वर्गलाई सम्झाउने, विचार र प्रचारप्रसार तीब्र बनाउने र त्यसका लागि सञ्चारक्षेत्रको प्रयोग गर्ने पनि योजनामा उल्लेख छ। उक्त योजनामा स्वतन्त्र मधेसको छुट्टै राष्ट्रगान पनि राउतले प्रस्ताव गरेका थिए।

यस्ता थिए मागहरु

– मधेसलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेस सरकार बनाउने। जसले राज्यको संक्रमणकालको व्यवस्थापन, प्रशासन निर्माण तथा निर्वाचन गरेर संविधानको मस्यौदा तयार पार्नेछ।

– नेपाली आधिपत्यसहितको प्रशासनिक संयन्त्र हटाएर मधेस प्रशासनको स्थापना गर्ने।
– नेपाली सेनालाई मधेसबाट हटाएर मधेसी सेनाको स्थापना गर्ने।
– सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेसी प्रहरीको स्थापना गर्ने।

–  नेपाल सरकारले मधेसबाट उठाउने गरेका सबै कर बन्द गराउने।
– मधेसीबाट लिएको भूमि फिर्ता गराउने।
– मधेशमा रहेको जमिन, पानी, वन तथा अन्य प्राकृतिक स्रोतमाथिको नेपाल सरकारको नियन्त्रण हटाउने।
– संयुक्त राष्ट्र संघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालनका लागि पहल गर्ने।

प्रधानमन्त्रीकाे प्रशंसा

अध्यक्ष प्रचण्डको जस्तै असाधारण निर्णय क्षमता सीके राउतजीमा देखेकाे भन्दै कार्यक्रममा प्रधानमन्त्री ओलीले राउतकाे प्रशंसा गर्नुभएको थियो । सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको भन्दै प्रधानमन्त्रीले  राउतकाे  प्रशंसा गर्नुभएको हाे।

सीके राउत पढेलेखेको विद्वान र वैज्ञानिक रहेको भन्दै ओलीले कता कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने डर आफूलाई रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘तर खुशी लाग्यो । ‘टेक्नोक्र्याट’ मात्र होइन ‘थिंकर’ पनि हो सीके राउत ।’

प्रधानमन्त्रीले समेत प्रशंसा गरेका सीके राउत वास्तवमै खुला राजनीतिमा आउलान या यो सहमति पनि उनको कुनै छलछाम षडयन्त्र हो, यो हेर्न भने समयलाई पर्खिनैपर्ने हुन्छ ।