काठमाडौं, उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ्ग’ले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताउनुभएको छ।

१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘महिला दिदीबहिनी सशक्तरुपमा अगाडि नबढेको भए गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता ऐतिहासिक राजनीतिक उपलब्धि प्राप्त नहुने धारणा व्यक्त गर्नुभयो ।

आठ मार्च मानव समुदायको ऐतिहासिक दिन भएको टिप्पणी गर्दै उपराष्ट्रपति पुनले राजनीतिक, आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

‘महिलाको सहभागिता घरेलु काममा मात्र सीमित रहनु हुँदैन’ उहाँले भन्नुुभयो – ‘विश्वको आधा हिस्सा ओगट्ने महिलाको सहभागिता राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा समाहित भएमा देशले समृद्धि प्राप्त गर्न सक्छ ।’

बलात्कार, घरेलु हिंसा तथा अन्य महिला हिंसाका घटनाले आफूलाई अत्यन्त गम्भीर र चिन्तित बनाएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले बलात्कारजस्तो जघन्य अपराध न्यूनीकरणका लागि सरकारी संरचना गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

आपराधिक मनोवृत्ति निर्मूल गर्न सशक्त सचेतना अभियान चलाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अगाडि भन्नुुभयो – ‘बलात्कार र महिला हिंसाका घटना धेरै बढ्नु आजको सभ्य समाजका लागि पाच्य विषय हुँदै होइन । बलात्कारीलाई कानूनी दायरामा ल्याएर पीडितलाई न्याय त दिनुपर्दछ नै । यस्ता जघन्य आपराधिक घटनाको न्यूनीकरणका लागि विशेष अभियान पनि सञ्चालन गरिनुपर्ने अवस्था देखिन्छ ।’

मुलुक राजनीतिक स्थायित्वसँगै स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा लम्किरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले दिगो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न महिलाको उद्यम क्षेत्रमा बलियो उपस्थित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले गरिरहेको कामको उचित मूल्याङ्कन नभएको बताउनुभयो । यद्यपि राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला सहभागिता उल्लेखनीय हुँदै गएकामा खुशी व्यक्त गर्दै श्रेष्ठले महिलालाई थप जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गर्न नहुने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला सोचेभन्दा बढी बहादुर भएको टिप्पणी गर्नुभयो।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालको पहिलो महिला ट्याम्पु चालक लक्ष्मी शर्मालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभएको थियो ।

त्यस्तै महिला सशक्तीकरण, उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला व्यक्तित्व विधाता श्रेष्ठ, कृष्णकुमारी पौड्याल, मीरा भट्टराई, शिवकुमारी डङ्गोल, सुलोचना श्रेष्ठ, मञ्जु मिश्र, अनुपमा खुन्जेली र लाक्पा फुटी शेर्पालाई सम्मान गरिएको थियो ।