काठमाडौं, राष्ट्रिय किसान आयोगको आयोजनामा फाल्गुण २६ देखि २८ गतेसम्म खाद्य सम्प्रभुता र किसान अधिकार सम्वन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा किसान अधिकार, खाद्य सम्प्रभुता सम्वन्धी विभिन्न विधामा १५ वटा कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले बताएको छ ।
सम्मेलनमा नेपाल लगायत बंगलादेश, चिन, भारत, इण्डोनेशिया, मलेशिया, पाकिस्तान,फिलिपिन्स, श्रीलंका, उत्तर कोरिया, भियतनाम लगायतका देशवाट वरिष्ठ पदाधिकारी, प्राज्ञ, किसान प्रतिनिधिहरु, कृषि सहकारीका प्रतिनिधिहरु, उद्योगी व्यवशायीहरु तथा कृषि विज्ञहरु गरी करीव ३५० जना सहभागि रहने आयोजकद्धारा बितरित प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
विश्व जनसंख्याको करीव तीन चौथाई बसोबास गर्ने दक्षिण एशियामा गरीवी र खाद्य असुरक्षाबाट मुक्ति एक साझा चुनौतीको रुपमा रहेको र कृषि जीवीकोपार्जनको मुख्य आधार रहेको यस क्षेत्रमा कृषिको विकास र विस्तार नगरी समग्र देशको विकास सम्भव नहुने भन्दै किसानका हकहितमा छलफल गर्न यस्तो सम्मेलन आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
तीन दिनसम्म चल्ने सम्मेलनले काठमाडौ घोषणापत्र जारी गर्ने बताईएको छ । घोषणापत्रमा यस क्षेत्रका किसानका समस्या, ति समस्या समाधानका उपाय, किसान अधिकार, खाद्य सम्प्रभुता तथा खाद्य सुरक्षाको प्रवर्द्वन सम्वन्धी ऐन कानून तर्जुमा र कार्यान्वयन, एवं नीति र रणनीति निर्माण लगायतका विषय समेटिने आयोजकले जनाएको छ ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र समापन नेकपा अध्यक्ष प्रचण्डले गर्ने बताइएको छ ।
कार्यक्रम काठमाडौं जमल स्थित होटल एलो प्यागोडामा हुने आयोजकले जनाएको छ ।