काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले सिके राउतसँग सरकारले गरेको सहमतिबारे आज संसदमा जवाफ दिनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री बादलले राज्यले विखण्डनकारीसँग आत्मसमपर्ण नगरेको बताउनुभयो ।

गृहमन्त्री बादलले भन्नुभयो – ‘सीके राउत समुहसँग सरकारले फागुन २४ गते राजनीतिक सहमति गरेको छ । उसले पुरानो लक्ष्य त्यागेको छ । राउत समुहले राष्ट्रिय अखण्डता र स्वतन्त्रता स्वीकार्ने प्रतिवद्धता जनाएकाले मुलुकमा शान्ति प्रकृया हुनेमा हामी विश्वस्त छौ ।’

संविधानभन्दा बाहिर गएर सहमति नगरिएको भन्दै गृहमन्त्रीले राज्यले विखण्डनकारीसँग आत्मसमपर्ण गर्यो भनेर चलाइएको हल्ला गलत भएको दावी गर्नुभयो । ‘के साच्चै विखण्डनकारी शक्तिसँग आत्मसर्मपण गरेको हो त सरकारले ?’  प्रतिप्रश्न गर्दै उहाँले भन्नुभयो – ‘यो प्रश्न गम्भिर छ, र यो कोणबाट किन प्रश्न उठेको छ भनेर सरकार विश्लेषण गरिरहेको छ ।’