चितवन, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभएको छ।
आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १७ को कार्यालय भवन शिलान्यास गर्दै उहाँले भरतपुर महानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
आफ्नै कार्यकालमा सुरु गरेका गौरवका आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, रिङरोड र लिंकरोड, फोहोरमैलाको दिगो व्यवस्थापन, पार्क निर्माण, व्यवस्थित अटोल्याण्ड, सडकहरूको स्तरोन्नति, कालोपत्रे लगायतका कामहरु भैरहेको बताउँदै प्रमुख दाहालले गुणस्तरीय सेवा प्रवाहका लागि सुविधासम्पन्न कार्यालय अपरिहार्य हुने उल्लेख गर्नुभयो । सोही बमोजिम महानगरपालिकाले वडा कार्यालयहरु निर्माणको कामलाई जोड दिएको उहाँको कथन थियो ।
केही वडा कार्यालयहरुको निर्माण सम्पन्न भैसकेको र ४ वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको बताउँदै मेयर दाहालले महानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु सुविधासम्पन्न र प्रविधिमैत्री हुने बताउनुभयो । उहाँले निर्माणाधीन वडा कार्यालय गुणस्तरीय ढंगले तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायिलाई निर्देशन दिनुभयो।
नदीतटीय क्षेत्रका जनसमुदायहरु विगतदेखि नदी कटान, डुबान र जंगली जनावरको आक्रमणबाट आक्रान्त भएको भन्दै उहाँले यसको दीर्घकालीन समाधानका लागि राप्ती र नारायणी नदीको तटबन्धन सहितको बाहिरी चक्रपथको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो। यो योजना सम्पन्न हुँदासम्म यी समस्याहरु पनि समाधान हुने विश्वास उहाँको थियो ।
दाहालले पूर्वाधारकासाथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकासका साथै सामाजिक विकास गर्दै सुशासन कायम गरी महानगरको विकास गर्नु आफ्नो प्रमुख उद्देश्य भएको धारणा राख्नुभयो।
वडा नम्बर १७ का अध्यक्ष ललितमान तामाङले भाडामा लिएर कार्यालय संचालन गर्नु परेको अवस्थालाई अन्त्य गर्दै यसै आ.व.बाट नयाँ भवनमा सर्ने लक्ष्य राखिएको बताउनुभयो ।