ललितपुर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आन्दोलनमा नतिजा दिन महिलाहरु आर्थिक रूपमा सबल बन्नैपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आइतबार शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता नामक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले अबको महिला आन्दोलनले रिजल्ट दिन आर्थिक रूपमा सबल बन्नैपर्ने धारणा राख्नुभयो ।
‘जबसम्म महिलाहरू आर्थिक रूपमा सक्षम बन्दैनन्, तबसम्म पूर्ण स्वतन्त्रता प्राप्त हुदैन’, – उहाँले भन्नुभयो, ‘आर्थिक रूपमा सबल बनाएपछि मात्रै महिलाहरू स्वतन्त्र हुन्छन्।’
गोष्ठिमा मन्तब्य राख्दै मन्त्री अर्यालले राम्रो सहकारीकर्मी बनेर आम महिलालाई आत्मनिर्भर बनाउन सहकारीकर्मी महिलालाई आग्रह गर्नुभयो । उहाँले सहकारीमार्फत महिलाहरूको आर्थिक अवस्था माथि उकास्ने कार्यमा लाग्न समेत आग्रह गर्नुभयो ।
‘तपाईहरू राम्रो सहकारीकर्मी बन्नुस्। सहकारीकर्मी बनेर धेरै महिलालाई सहकारीमार्फत् आत्मनिर्भर बनाउनुस्’, मन्त्री अर्यालले भन्नुभयो – ‘आफूजत्तिकै अरूलाई बनाउने ठूलो कुरा हो। आफूमात्रै बन्न राजनीति र सहकारी क्षेत्र रोज्नुपर्दैन अरू नै थुप्रै क्षेत्र छन्। सहकारीमा लागेपछि आफू पनि बन्ने र अरूलाई पनि बनाउने हो।’
सहकारीमार्फत् महिलाहरूको सशक्तिकरण भइरहेको भन्दै उहाँले अब क्षमताको विकास गर्नुपर्ने बताउनुभयो। नेपालमा महिला आन्दोलन बोल्न पाउने, लेख्न पाउने, चुन्न र चुनिन पाउने अवस्थादेखि शुरू भएर अहिले करिब चार हजार महिलाहरू महत्वपूर्ण ठाउँमा जनप्रतिनिधिको रूपमा चुनिने अवस्था आएको मन्त्री अर्यालको भनाई थियो ।
२०४६ सालको जनआन्दोलन देखि २०६२/०६३ सालको आन्दोलनमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले महिलाले लुकेर र छिपेर मध्यरातमा होस् वा दिनमा आन्दोलनमा शंखघोष नगरेको भए परिवर्तन सम्भव नहुने ठोकुवा गर्नुभयो ।
अबको महिला आन्दोलनको दिशा भनेको सशक्तिकरणकै भएको भन्दै उहाँले हरेक क्षेत्रमा महिलाले हस्तक्षेपकारी दाबेदारी प्रस्तुत गर्नुपर्ने बताउनुभयो । अब राजनीति, ब्यवसाय, उद्यम, बैंक, कर्मचारी, कुटनीतिक नियोग लगायतका हरेक क्षेत्रमा महिलाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको जिकीर थियो ।
सहकारीहरूलाई दिने अनुदानमा अब तल्लो स्तरबाट उठेका र उठ्ने कोशिस गरिरहेका सहकारीलाई प्राथमिकता दिइने मन्त्री अर्यालको उद्घोष थियो ।