काठमाडौं, सत्तारुढ दल नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जनकपुरमा स्वतन्त्र मधेशको नारा लाग्नु गम्भीर भएको बताउनुभएको छ। नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले आइतबार जनकपुरमा गरिएका गतिविधिको आलोचना गर्नुभएको हो ।

आइतबार आफ्नो ट्वीटरमा उहाँले लेख्नुभएको छ -‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको बिरुद्ध खुल्लमखुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र किन भइरहेछ, यो हद भयो, असह्य भयो। बिखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि बिखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नु पर्छ, गम्भीर बनौं।’

शुक्रबार सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच भएको ११ बुँदे सम्झौताको व्याख्या गर्दै सम्झौता भएकै दिन प्रधानमन्त्री केपी ओलीकै अगाडि सरकारले जनमत संग्रह स्वीकार गरेकाले आफ्नो जित भएको राउतले बताएका थिए। यसपछि शनिबार तराईका विभिन्न जिल्लामा राउतका समर्थकहरुले दिपावली गरेका थिए।

आइतबार राजधानी काठमाडौंबाट राउत जनकपुर विमानस्थलमा पुगेका उनका समर्थकहरुले विजय जुलुस निकालेका थिए। उनका समर्थकहरुले ‘मधेश नेपाल होइन, मधेश एसियाको नयाँ देश हो’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। जुलुसमा राउतका समर्थकहरुले स्वतन्त्र मधेशको नारा लगाएका समेत लगाएका थिए ।

जनकपुरमा यस्तो नारा लागिरहे पनि आइतबारै राष्ट्रिय किसान आयोगले आयोजना गरेको खाद्य सम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारले राउतसँग सम्झौता गर्दा कसैलाई टाउको दुखाई नभएको टिप्पणी गर्नुभएको थियो। उहाँले सो सम्झौताको बचाउ गर्दै सम्झौतामाथि प्रश्न उठाउनेहरुलाई व्यंग्य गर्नुभएको थियो।

संसदमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले सिके राउतले ११ बुँदे सम्झौतालाई जनमतसंग्रहको रुपमा बोलेपछि कुरा शुरुकै अवस्थामा आउने भन्दै उनले कुन प्रसंगमा भनेका हुन्, त्यो स्पष्ट हुनुपर्ने जवाफ दिनुभएको थियो।