काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

स्रोतका अनुसार उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ ।

बैठकमा गृहमन्त्री राम वहादुर थापाले वार्ता आह्वान गर्दा अटेर गरेको, हिंसात्मक घटनालाई जारी राखेको, चन्दा आतंक गरेको लगाएत व्रिफिङ गर्नुभएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको परेको बताउनुभएको थियो । त्यस्तै मन्त्रीपरिषद् बैठकमा उहाँले नेकपा कार्यकर्ताको घरमा छापा मार्दा उच्च व्यक्तिहरुलाई कारवाही गर्ने दस्तावेज समेत भेटिएको बताएको स्रोतले जनायो ।

यसअघि प्रधानमन्त्री ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने स्पष्ट पार्नुभएको थियो भने सोमबार गृहमन्त्री बादलले असामाजिक अपराधिक तत्वहरुबाट शान्ति सुरक्षाको निम्ति खतरा हुदै आएको भन्दै यस्ता असामाजिक अपराधिक तत्वहरुलाई नियन्त्रण र निस्तेज पारिने बताउनुभएको थियो ।

सरकारले पृथकतावादी सीके राउत समूहसँग ११ बुँदे सहमति गरेको पाचौँ दिन विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएको हो । राउतसँग फागुन २४ गते भएको  सहमति अहिले पनि विवादमा छ । सहमतिमा जनमत संग्रह स्वीकार गरेको भनेर सरकारको आलोचना भएको छ ।

यसअघि गृहमन्त्री विभिन्न प्रदेशमा पुगेर सुरक्षा रणनीति सम्बन्धी गोष्ठीमा सहभागी हुनुभएकाे थियाे । उहाँ काठमाडौं फर्केलगत्तै विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सार्वजनिक भएकाे छ।