अन्तर्राष्ट्रिय किसान सम्मेलन, International Peasants' Conference on Food Sovereignty and Peasants' Rights
 

काठमाडौँ । राष्ट्रिय किसान आयोगको आयोजनामा देशको राजधानी काठमाडौँमा खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युबाट समुद्घाटन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्युद्वारा समापन गरिएको सो प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलनले विश्वभरका उत्पादक किसानहरु र समाजवादी राष्ट्रहरुको पक्षमा ऐक्यवद्धता जाहेर गर्दै एवम् साम्राज्यवादको मुटुमा किल्ला ठोक्ने गरी ऐतिहासिक १६ बुँदे काठमाडौँ घोषणा पत्र जारी गरेको छ ।

नेपालमा हरेक दिन जस्तो कुनै न कुनै विशाल राष्ट्रिय स्तरका र हरेक हप्ताजस्तो अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरु आयोजन हुने गरे पनि २०७५ फागुन २६, २७ र २८ गते काठमाडौँमा आयोजना गरिएको सो सम्मेलन नेपालको इतिहासमा कुनै पनि सरकारी निकायले आयोजना गरेका पहिलो अन्तर्राष्ट्रिय किसान सम्मेलन हो ।

PM KP Sharma Oli addressing the Inagural Session of the International Conference on Food Sovereignty and Peasants' Rights
प्रधानमन्त्री केपी शर्मा ओली, अन्तर्राष्ट्रिय किसान सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
Ex-PM Pushpa Kaml Dahal 'Prachanda', addressing the Inaugural Session of the International Conference on Food Sovereignty and Peasants' Rights
अध्यक्ष क. प्रचण्ड, अन्तर्राष्ट्रिय किसान सम्मेलनलाई सम्बोधन गर्नुहुँदै

अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित इण्डोनेसिया, पाकिस्तान, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, फिलिपिन्स, बंगलादेश, भारत, मलेसिया र श्रीलंका गरी ९ देशका राष्ट्रिय किसान आयोग, किसान संघ/संगठन/सञ्जालहरु, किसान नेताहरु, साना किसान तथा खाद्य उत्पादकहरु, मोही तथा जोताहा किसानहरु, भूमिहीन तथा दलित किसानहरु, युवा तथा महिला किसानहरु, प्रांगारिक उत्पादकहरु, सामुदायिक वन तथा सिँचाई उपभोक्ताहरु, माझी तथा मछुवाराहरु, विभिन्न देशमा कृषि, पशुपन्छी तथा भूमिसुधार मन्त्रालय सम्हालेका पूर्वमन्त्रीहहरु, कृषि विज्ञहरु, विभिन्न विषयविज्ञहरु, सरकारी पदाधिकारी तथा कर्मचारीहरु, विभिन्न खाद्य, कृषि तथा भूमिसम्बन्धी संघ/संस्था/संगठनका प्रतिनिधिहरु, संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनका प्रतिनिधिहरु, पत्रकार तथा सञ्चारकर्मीहरु र किसानहरुको व्यापक उपस्थिति रहेको थियो ।

सम्मेलनको उद्घाटन सत्र र समापन सत्रमा सबै क्षेत्रको प्रतिनिधित्व गर्दै ४५०–४५० जना भन्दा धेरैको उपस्थिति रहेको थियो भने दुई दिन चलेको वन्द सत्रमा राष्ट्रिय किसान आयोगका पदाधिकारीहरु तथा वरिष्ठ कर्मचारीहरु, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु, केही कृषि विज्ञहरु र स्वदेश तथा विदेशी किसानहरु एवम् किसान संघ/संगठन/सञ्जालका नेताहरुको मात्रै उपस्थिति रहेको थियो ।

फागुन २६ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरेपछि शुरु भएको अन्तराष्ट्रिय किसान सम्मेलनको बन्द (राजनीतिक) सत्रमा राष्ट्रिय किसान आयोगको तर्फबाट आफ्नो संक्षिप्त परिचय सहितको कार्यपत्रका पेश गरिएको थियो भने सहभागी ९ देशहरुको ‘कृषि, किसानहरु र खाद्य सम्प्रभुता तथा किसान अधिकार सम्बन्धी ती मुलुकहरुको राष्ट्रिय परिस्थिति’का बारेमा कार्यपत्रहरु र ५ वटा खाद्य सम्प्रभुता, किसान अधिकार र जलवायु परिवर्तन सम्बन्धी विषयगत कार्यपत्रहरु समेत गरी जम्मा १५ वटा कार्यपत्रहरु पेश गरिएका थिए ।

प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलनले साना, जोताहा तथा उत्पादक किसानहरु, खाद्य सम्प्रभुता, भूमि सुधार, कृषि क्रान्ति र जनवायु न्यायको पक्षमा एवम् नवउदारवाद, जनविरोधी नीतिहरु, अन्यायपूर्ण नाकावन्दी र वैदेशिक हस्तक्षेपको विरुद्धमा १६ बुँदे ऐतिहासिक काठमाडौँ घोषणा पत्र जारी गरेको थियो ।

सम्मेलनमा उपस्थित अन्तर्राष्ट्रिय प्रतिनिधिहरुले नेकपाका अध्यक्ष क. प्रचण्ड, वरिष्ठ नेता क. माधवकुमार नेपालसहित विभिन्न नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँगको भाइचारा सम्बन्धलाई थप सदृढ बनाउने प्रस्तावहरु राख्नुका साथै नेपालको समाजवादी क्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्नु भएको थियो ।

Chariman Prachanda, meeting with the international delegates of International Conference on food Sovereignty and Peasants' Rights
विदेशी किसान नेताहरुसँगको भेटमा क. प्रचण्ड
Chariman Prachanda, taking group photo with the international delegates of International Conference on food Sovereignty and Peasants' Rights
विदेशी किसान नेताहरुसँगको भेटसँग सामुहिक तस्विर खिचाउँदै अध्यक्ष क. प्रचण्ड
Comrade Madhab Nepal, taking group photo with the international delegates of International Conference on food Sovereignty and Peasants' Rights
क. माधव नेपाल, अन्तर्राष्ट्रिय किसान सम्मेलनका प्रतिनिधिहरुसँग सामुहिक तस्विर खिचाउँदै

देशको दुई तिहाई जनसंख्या ओगट्ने किसानहरुलाई विश्व किसान आन्दोलनसँग जोड्ने यो ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलनमा ठूलो संख्यामा किसान पक्षधर पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो । सो अन्तर्राष्ट्रिय सम्मेलनबारे जनपक्षधर तथा किसानमुखी अधिकांश सञ्चार माध्यमहरुले व्यापक रुपमा समाचार सम्प्रेषण गरेका थिए । उद्घाटन सत्र र समापन सत्रलाई स्वतस्फूर्त रुपमा विभिन्न फेसबुक पेजहरु तथा सञ्चार माध्यमहरुद्वारा निःशुल्क लाइभ गरिएको थियो ।

परन्तु संघीय संसदको दुई तिहाई भन्दा ठूलो समर्थन प्राप्त गरेको मुलुकको बहालवाला प्रधानमन्त्रीले उद्घाटन गरेको, पूर्व प्रधानमन्त्री तथा देशको सबैभन्दा ठूलो पार्टीको अध्यक्षले समापन गरेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विभिन्न व्यक्तित्त्वहरुको उपस्थिती रहेको सो प्रथम अन्तर्राष्ट्रिय सम्मेलन (उद्घााटन सत्र र समापन सत्र समेत)बारे अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको निर्देशनमा जनविरोधी समाचार उत्पादन (न्युज म्यानुफ्याक्चरिङ) गर्ने भनेर चिनिएका केही कर्पोरेट सञ्चार माध्यमहरुले समाचार बहिष्कार (न्युज ब्ल्याक आउट) गरेका थिए ।

स्वदेशी तथा विदेशी किसान संघ/संगठनका नेताहरुले किसान सम्मेलनबाट साम्राज्यवाद डराएको र समाचार बहिष्कार गर्न लगाएको भन्दै यसलाई साम्राज्यवादको विरुद्ध विश्वभरका किसानहरुको ऐतिहासिक विजयको रुपमा लिएका छन् । किसानहरुको एकताले साम्राज्यवाद र तिनका दलालहरुलाई परास्त गर्ने र विश्वभर समाजवादी क्रान्तिको पक्षमा यो अन्तर्राष्ट्रिय सम्मेलनको ऐतिहासिक महत्त्व रहेको विश्लेषहरुको दावी छ ।