काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै सरकार समक्ष तत्काल प्रतिबन्ध खारेज गर्न माग गर्नुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले विप्लवहरुले उठाएका मागहरु राजनीतिक भएकाले वार्ता तथा सहमतिमावाटै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले सरकार सिके राउत र विप्लव समूहमध्ये एक पक्षसँग वार्ता तथा सहमति गर्ने र अर्को पक्षलाई दमन गर्ने रणनीतिमा रहेको आरोप लगाउनुभयो । नेता किरातीले विप्लव नेतृत्वको नेकपाविरुद्ध सरकारको फासीवादी प्रतिबन्ध किमार्थ देश र जनताको हितमा हुन नसक्ने ठोकुवा गर्दै भन्नुभयो – ‘त्यस प्रकारको प्रतिबन्ध खारेज गरि वार्ताद्वारा अग्रगामी समाधान खोज्न सरकारसमक्ष हाम्रो पार्टी आग्रह गर्दछ।’

विप्लव समूहलाई आफूहरुले भाईचारा मानेको भएपनि सांगठनिक र राजनीतिक रुपमा फरक–फरक ठाउँमा भएको जनाउँदै उहाँले  एक ठाउँमा नरहेकाे स्पष्ट पार्नुभयाे ।

किरातीले विप्लव समूहलाई पनि वार्ता तथा सहमतिमा आउन आग्रह गरिरहेकाे पनि सुनाउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले भीडन्त गरेर हुँदैन । प्राप्त उपलब्धिहरुको रक्षा गर्नुपर्छ । हामी सबै माओवाद विचार मान्नेहरु जुटौं भन्ने हाम्रो चाहना हो, हामी त्यहीअनुसार प्रयत्न गरिराखेका छौं ।’

आफ्नो पार्टीले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो। गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका निर्णयहरु र त्यसलगतै फागुन २६ र २७ गते बुटवलमा बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष किरातीले यस्तो जानकारी दिनुभएको हो।

किरातीले ईण्डो–प्यासिफिक कमाण्डमा संलग्नता र सरकार–सिके राउत सहमतिको विखण्डनकारी प्रावधानसमेत तत्काल खारेज गर्न पनि महाधिवेशनले माग गरेको उल्लेख गर्नुभयो । महाधिवेशनले समाजवादी राष्ट्रिय एकीकरण र वर्गसंर्घषमा महान जनविद्रोहको रणनीति लिएको उहाँको भनाई थियो।

फरक प्रसँगमा उहाँले रेशम चौधरीलाई आजिवन जन्मकैद गरेको निर्णयको बारेमा टिप्पणी गर्दै भन्नुभयो – ‘रेशम चौधरी उम्मेद्वार हुनेबेलामा वैद्यानिकता हुने अनि उनले चुनाव जितेपछि सरकारले उनीविरुद्ध जुन प्रकारको रवैया देखाएको छ, त्यो न्यायोचित छैन ।’