केपी, kp oli, kp sharma oli, केपी शर्मा ओली, खड्गप्रसाद ओली,
 

विराटनगर, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गर्नुभएको छ ।

आइतवार विराटनगर विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्डलाई सरकारले चिन्दैन।’

प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको बताउँदै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको टिप्पणी गर्नुभयो । विप्लव समूहमाथिको प्रतिवन्ध र सिके राउतसँग गरेको सहमतिको विरुद्धमा दृष्टिकोण बनाउँदा इतिहासलाई समेत जवाफ दिन सक्नु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘नेताहरुलाई मेरो आग्रह छ कि इतिहासलाई जवाफ नै दिन नसक्ने कुरा नगर्नु नै राम्रो हुन्छ, सरकारले नेपालको कानून बमोजिम दर्ता भएर चलेको दललाई प्रतिबन्ध लगाएको होइन ।’

प्रधानमन्त्रीले विप्लव समूहका बारेमा धारणा राख्दा सचेत भएर धारणा राख्न नेताहरुलाई आग्रह गर्नभयो। ‘नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कतै दर्ता भएको थियो र । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो – प्रधानमन्त्रीले भन्नुभयो – ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ।’

बम पड्काउने, मान्छे मार्ने, जन्तीको बसमा आगो लगाउने, चन्दा आतंक चलाउने, धम्की, लुटपाट र विध्वंश जस्ता गतिविधिलाई सरकारले प्रतिवन्ध लगाएको प्रधानमन्त्रिको स्पष्टोक्ति थियो । यस्ता कृयाकलापमाथि प्रतिवन्धमात्र होइन सरकारले नियन्त्रण पनि गर्ने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो  – ‘बिप्लव समूहले पनि बुझे हुन्छ कि सरकार ठट्टा गर्दै छैन, यस्ता कामलाई प्रतिवन्ध होइन नियन्त्रण गरिन्छ ।’

प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताउनुभयो। उहाँको प्रश्न थियो – ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन ।सभ्य समाजले सुन्न सक्ने माग छ, के के माग छ ?’

फरक प्रसंगमा वोल्दै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने धारणा पनि राख्नुभयो।