काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बिच पार्टी एकता भएको १० महिना बित्दैछ । पुष्पलाल स्मृति दिवस पारेर गत जेठ ३ गते दुइ पार्टी एकताको औपचारिक घोषणा गरिएको थियो ।
यो बिचमा केन्द्रमा खासै चहल पहल नदेखिए पनि स्थानीय तहमा तीव्र रुपमा पार्टी एकताको काम अगाडि बढिरहेको छ । शीर्ष तहको विवादले जिल्ला र जनबर्गिय संगठन एकीकरण थाँती नै रहेपनि स्थानीय तहमा भने पार्टी एकीकरण अगाडि बढिरहेको हो।
प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा र धनकुटाका गरी ५ जिल्लाका स्थानीय तहमा एकीकरण सकिएको छ । यस्तै प्रदेश २ संगठन कमिटीले आठवटै जिल्लाका स्थानीय तहको नेतृत्वको नामावली अनुमोदनको तयारी गरेको छ ।
प्रदेश ३ मा दोलखा, सिन्धुली र रसुवा गरी ३ जिल्लामा एकीकरण टुंगो लागेको छ । प्रदेश ४ मा प्रदेशका सबै जिल्ला संयन्त्रहरुको बैठक बसिरहेको छ । स्थानीय तह र वडा तहसम्म सहमति र समझदारीको आधारमा एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको नेकपाका केन्द्रिय सदस्य आशा कोईरालाले बताउनुभयो ।
प्रदेश ५ मा पाल्पा, बर्दिया, प्युठान, कपिलवस्तु र रुपन्देही गरी ५ जिल्लामा एकीकरण टुंगो लागेको र अन्य जिल्लामा पनि धमाधम काम अगाडि बढिरहेको प्रदेश सचिव जग प्रसाद शर्मा अपारले बताउनुभयो । कर्णाली प्रदेशको डोल्पा, जुम्ला, जाजरकोट र मुगुका केही स्थानीय तहका वडा तहसम्म एकीकरण सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशमा कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडी गरी ७ जिल्लामा वडा तहसम्मको एकीकरण टुंगीन लागेको छ ।