सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक सल्लाहकारमा नेकपा नेता भीमप्रकाश शर्मा (रमेश काेइराला) नियुक्त हुनुभएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सल्यानका शर्मालाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।
सल्लाहकारमा नियुक्त भएका शर्मा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य हुनुहुन्छ । प्रदेशसभाको चुनावमा शर्माले सल्यान (क) मा वाम गठबन्धनका उम्मेदवार गुलावजङ शाह विरुद्ध बागी उम्मेदवारी दिनुभएको थियो ।
पूर्व माओवादीको सल्यान इन्चार्जसमेत भइसकेका शर्माको उम्मेदवारीलाई जिल्ला पार्टीले नै समर्थन गरेको थियो । मान्छे चिन्ह लिएर चुनाव लडेका शर्माको पक्षमा ७ हजार ४ सय १६ मत आएको थियो।
यसैगरी, मुख्यमन्त्री शाहीको जनसम्पर्क सल्लाहकारमा कालीकोटका जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा दैलेखका रत्न गाहामगरलाई नियुक्ति गर्ने निर्णय गरिएको मन्त्रीपरिषद्का प्रवक्ता विमला केसीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।
बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
यसैगरी, प्रादेशिक जडिबुटी तथा शीत भण्डार निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
साथै प्रादेशिक जडीबुटी तथा शीत भण्डार निर्माणका लागि जागृति सामुदायिक वन उपभोक्ता समूह भेरीगंगा नगरपालिका वडा नं. १०, मदानेचौर सुर्खेतको ६ हेक्टर वन क्षेत्र भोगाधिकारको स्वीकृतिका लागि संघीय सरकारसँग माग गरिएको पनि बिज्ञप्तिमा उल्लेख छ ।