काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डले आफूलाई अन्तर्राष्ट्रिय जगतमा हत्याराका रुपमा चित्रण गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनुभएको छ। यदि त्यसै गरिए पनि आफूलाई डर भने नरहेको उहाँले बताउनुभयो ।
प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले प्रचण्ड आतङ्ककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गरिएको थियो ।
काँग्रेसको वाशिङ्गटन डिसी कमिटीले समेत आफूलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेको आफूले सुनेको भन्दै उहाँले काँग्रेसको ध्यानाकर्षण गराउनुभयो ।
आइतबार रिपोर्टर्स क्लवको वार्षिक उत्सवमा कार्यक्रममा मञ्चमा रहेका कांग्रेस नेता डा. रामशरण महततर्फ हेर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो – ‘म वाशिङ्गटन डिसीमा बस्दै गर्दा त्यहाँको काँग्रेसको कमिटीले निर्णय गरेर प्रचण्ड एउटा अपराधी हो, हत्यारो हो र यसलाई गिरफ्तार गर्नुपर्छ भनेर कमिटीले निर्णय गर्यो भनेर बाहिर आयो ।’
‘विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा र त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा गिरफ्तार गरेर जेल हाल्नुपर्यो भनेर अन्तर्राष्ट्रिय जगतलाई भन्नु कति तर्कसंगत छ ? यसले आजको हाम्रो राष्ट्रिय आवश्यकतालाई कत्तिको सम्बोधन गरेको छ ? मैले आज नजिकबाट यो तितो भर्खरै अमेरिका जाँदा अनुभव गरेर आएँ ।’ – उहाँले भन्नुभयो ।
तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पहलकदमीमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्नुभयो ।
युद्ध अपराधको आरोपमा आफूलाई पक्राउ गराउने कोशिस भएपनि आफूलाई त्यसबाट कत्ति पनि डर नलागेको सुनाउँदै उहाँले भन्नुभयो – ‘कतिपय मान्छेहरुले त्यो कुराबाट प्रचण्ड डराएको हो कि भनेजस्तो ठान्छन् तर मलाई कुनै डर छैन अब,’ उहाँले भन्नुभयाे – ‘किनकी शान्ति सम्झौता भएको छ, संविधान बनेको छ, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ, निर्वाचन भएको छ, अब देश समृद्धितिर जाँदैछ । मलाई व्यक्तिगत रुपले न कुनै डर, लोभ पनि अहिले मलाई त्यस्तो छैन ।’
प्रचण्डलाई अपराधी भन्ने हो भने प्रकारान्तरले कांग्रेस पनि अपराधी हुने उहाँको तर्क थियो। उहाँले भन्नुभयो – ‘साँच्चै कमिटीले निर्णय गरेको हो र त्यो कांग्रेसकै हो भने उनीहरुले प्रचण्डलाई अपराधी भनेको त प्रकारान्तरले त कांग्रेसलाई पनि अपराधी भनेकै हुन्छ । गिरिजाप्रसाद कोइराला जो हामीबीच हुनुहुन्न, उहाँहरुले पनि हस्ताक्षर गर्नु भएको छ । यति कुरा पनि नबुझ्ने हो त ?’
अध्यक्ष प्रचण्डले पत्रकारिताको स्वतन्त्रताको कुरा गर्दा त्यसको नैतिकताको कुरा गर्ने कि नगर्ने भनेर पनि प्रश्न गर्नुभयो ।