झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै आरोप वा टिप्पणीबाट सरकारले विकासको काम नरोक्ने बताउनुभएकाे छ ।

आइतबारदेखि झापाको दमकमा शुरु भएकाे वृहत वाङ्मय सभाको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘तपाइँ आफै भन्नुहाेस्। केपी ओली प्रधानमन्त्री भएका बेला काम रोकिएर बस्न सक्ला त? असम्भव।’

दमक नगरपालिकाले तयार पारेको एप्सको  उद्घाटन गर्दै ओलीले अब डिजिटल नेपालको युग शुरुवात भएकाे बताउनुभयाे । ‘बाटाभरि झुण्डिएका तार अब शोभायमान हुँदैनन्। सवै अण्डरग्राउण्ड गरिन्छ ।’ – प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘यस्ता कुरा सुन्दा नेपालको इतिहास नपढेका, हामी नेपाली को हौ भन्ने थाहै नपाएका, देशको आवश्यकता के हो भन्ने थाहा नपाएकाले हल्का फुल्का टिप्पणी पनि गर्लान्। तर कुनै पनि हालतमा याे अभियान रोकिँदैन।’

नेपाल महान् पूर्खाको तपोभूमि रहेको भन्दै प्रधानमन्त्री ओलीले विश्वकै प्राचीन ग्रन्थ बेद समेत यही नेपालको रचना भएको धारणा राख्नुभयाे। प्रदेश १ को कोशी क्षेत्रमा बेदको रचना भएको र त्यसको पनि सवै भन्दा उच्च मन्त्र गायत्री रहेको प्रसंग निकाल्दै उहाँले भन्नुभयाे – ‘हाम्रा पूर्खाले बेद जस्तो प्राचीन र महान् ग्रन्थ तयार पारे । त्यसमा गायत्री मन्त्र छ। त्यसैले त्यो हरेक दिन विहान जप्नुपर्छ भनेर सिकाए।’

२०२५ सालतिर आफूले पनि कविता लेखेको प्रसंग सुनाउँदै उहाँले त्यस बेला ठूलो साहित्यकार बन्ने रहर भएको पनि बताउनुभयाे । तर आफ्नो बाटो फेरिएपछि साहित्यकार हुन नसकेको तर रुची भने अझै रहेको उहाँकाे भनाइ थियाे ।

भाका हालिएका, खिपिएका शव्दहरू युगौ युग बाँच्ने बताउँदै  प्रधानमन्त्री ओलीले ‘हे कान्छा ठट्टैमा यो बैश जान लाग्यो’ जस्ता कर्णप्रिय गीतहरू सुन्दर र कर्णप्रिय भएकै कारण वर्षौसम्म सवैले सम्झिरहेको प्रसंग सुनाउनुभयाे।

भर्खरै मात्र लगानी सम्मेलन सकेको प्रसंग उल्लेख गर्दै उहाँले नेपालले भिख नमागेको बरु लगानीका लागि आह्वान गरेको प्रष्ट पार्नुभयाे । ‘नेपालमा विदेशीहरूलाई लगानी गर, नेपाललाई फाइदा देऊ, नाफा कमाउ भनेको हो’, प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘नेपाल भिख माग्ने देश होइन। तर कसैले दिन्छु भन्यो भने अहिले नाई भन्ने अवस्था पनि छैन। यो अवस्थाको पनि अब अन्त्य गरिन्छ।’

स्थानीय विकास निर्माणका योजनाहरूकाे  प्रसंग उठाउँदै उहाँले केही सडक निर्माणमा ढिलाई भएको थाहा भएको तर संघीयता कार्यान्वयनका क्रममा समन्वयमा भएको समस्याले ढिलाई भएको बताउनुभयाे ।

झापा र इलामको सीमा चुरे क्षेत्रमा भुकम्प अध्ययनको केही काम भइसकेको बारे प्रधानमन्त्री ओलीले त्यहाँ भुकम्प संग्रहालय तथा अध्ययन केन्द्र स्थापना गरिने उल्लेख गर्नुभयाे। यसका लागि पुन : निर्माण प्राधिकरण र नगरपालिकाले समन्वय थालेको उहाँकाे भनाइ थियाे। यस्तै गरी, दमकमा भ्यु टावर निर्माणले अव गति लिने भन्दै त्यसको नाम युवराज दाहाल स्मृति भ्यु टावर राख्न उहाँले नगरपालिकालाई आग्रह गर्नुभयाे।

दमकको विकासका लागि खटेका युवराज दाहालकाे ताप्लेजुङमा भएकाे हेलिकोप्टर दुर्घटनामा निधन भएकाे थियाे ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा आयोजित बृहत संगोष्ठिले प्रदेशको भाषा, कला र साहित्यको विकासका लागि महत्वपूर्ण योगदान दिने अपेक्षा रहेकाे बताउनुभयाे ।