Prime minister KP Sharma Oli प्रधान मन्त्री केपी शर्मा ओली
 

काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपाल तिब्र आर्थिक बृद्धि भएको देश हुने बताउनुभएकाे छ। मंगलबार ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको मुलुक बनाउने दाबी गर्नुभयाे ।

उहाँले इतिहासमै तिब्र आर्थिक बृद्धिदर बढेको मुलुकका रूपमा परिचित गराउने बताउनुभयाे। ‘हामीले केही वर्षभित्रै नेपाल इतिहासमै सबैभन्दा बढी तिब्र आर्थिक वृद्धि भएको देश भनेर विकास गर्छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘हामीसँग अहिले प्रविधि छन् त्यो ल्याएर विकास गर्न सक्छौ । यसको बढीभन्दा बढी प्रयोग गरेर आर्थिक विकास गर्छौ।’

सहकारी आन्दोलन सरकारको आफ्नै आन्दोलन भएको भन्दै प्रधानमन्त्री ओलीले सहकारीले समृद्ध नेपाल सुखी नेपालकाे लक्ष्य पूरा गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयाे। बाँच्न सहज बनाउने लक्ष्यका साथ सहकारी आन्दोलन शुरू भएको भन्दै प्रधानमन्त्रीले अबको सहकारी आन्दोलन समृद्धिका लागि हुने बताउनुभयाे ।

अबको सहकारी उत्पादनमा लागेर समृद्ध बन्नका लागि केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । ‘अबको सहकारी आन्दोलन प्रतिस्पर्धात्मक उद्यमका लागि, आधुनिक प्रविधिको प्रयोगका लागि हुनुपर्छ। समृद्धि र सुखका लागि हुनुपर्छ’- प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘सहकारीका माध्यमबाट ठूलो सहकार्यमार्फत् कृषिको आवश्यक आधुनिकीकरण गर्नुपर्छ।’