Hon Padma Aryal, Minister for Land Management, Cooperatives and Poverty Alleviation
 

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्या बढी हुँदा मन्त्रालयले मर्जरको अभियान थालेको बताउनुभएकाे छ।

६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै मन्त्री अर्यालले अहिले भएका सहकारीकाे संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताउनुभएकाे हाे । अब पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडि बढेको उहाँले बताउनुभयाे ।

मन्त्रालयले सहकारीको मर्जर अभियान नियमावलीमा उल्लेख गरेर थालनी गरेको बताउँदै मन्त्री अर्यालले सहकारी मर्जर नभएमा सञ्चालन हुन नसक्ने धारणा राख्नुभयाे । सहकारी अब अझ बढी गाउँकेन्द्रित हुनुपर्ने भन्दै उहाँले सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब सहकारी गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने टिप्पणी गर्नुभयाे ।

सहकारी संस्थाको संख्या धेरै हुँदा गुणस्तरीयतामा कमी आएको बताउँदै उहाँले केही २/४ संस्थाबाट भएको बदनामीका कारण सहकारीमाथि प्रश्नचिह्न खडा भएकोले अब सहकारीलाई यस्ता कुराबाट टाढा राखेर समृद्धिको अभियानसँग जोड्नुपर्ने बताउनुभयाे ।

‘अब ‘एक गाउँ एक सहकारी’ भनेर सहकारीलाई समृद्धिको अभियानसँग जोड्नुपर्छ, मन्त्री अर्यालले भन्नुभयाे । मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम शुरू गरेको भन्दै उहाँले यसलाई काठमाडौं आसपास हुँदै देशैभर बिस्तार गरिने बताउनुभयाे।

सहकारीलाई उद्योगमा लगेर गरिबी न्यूनीकरणका निम्ति प्रमुख कार्य गरिने भन्दै उहाँले सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका स्थानीय तहहरूमा गरीब लक्षित कार्यक्रम सञ्चालन गरिने याेजना अगाडि सार्नुभयाे ।

एउटा स्थानीय तहले एउटा सहकारी जिम्मा लिने गरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आधार भनेकै सहकारी भएको दावी गर्नुभयाे ।