काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सरकार सम्हालिसकेपछि धेरै काम भएको दाबी गर्नुभएकाे छ । काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  कतिपयले कुरा मात्रै गरेर नहुने काम नै गर्नुपर्छ भनेकोतर्फ लक्षित गर्दै सरकारले काम नै गरिरहेको दाबी गर्नुभएकाे हाे ।

उहाँले भन्नुभयाे – ‘एक वर्षमा झोलुङ्गे पुलहरु बनेका छन्, तुइनहरु फालिएका छन् । अनि कुरा मात्रै भो र ?  यो सरकार गफ गर्न बनेको होइन, काम गर्न बनेको हो ।’

पटक–पटक अल्पमतको सरकारबाट दिक्क भएर नागरिकले बहुमतको सरकार बनाएको पनि उहाँले बताउनुभयाे । अहिले राष्ट्रिय राजनीतिको ट्रेन्ड सामाजिक असन्तुष्टिभन्दा पनि निर्माणको ट्रेन्ड भएको भन्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनका लागि सरकार अगाडि बढेको हुनाले पन्ध्रौँ पञ्चवर्षीय योजना महत्वाकांक्षी हुनुपर्ने बताउनुभयाे ।

देशमा फलाम, तामालगायत थुप्रै खानी रहेको बताउँदै प्रधानमन्त्री ओलीले यसले देश समृद्ध बनाउने दाबी गर्नुभयाे । उहाँले धेरै मानिसकाे मानसकिता र दृष्टिकोणमा परिर्वतन आउनुपर्ने बताउनुभयाे । ‘स्टिमर बनेको कति भयो । तर, कोशीमा केही वर्ष अघिबाटै मात्रै त स्टिमर चल्यो । अहिले प्रदेश एकका मुख्यमन्त्रीज्यू आफ्नो सदरमुकामबाट आफ्नो गृहजिल्ला एकछिनमा पुग्नुहुन्छ । गाडीमा जाँदा दिनभरि लाग्ने ठाउँमा एकछिनमा पुग्नुहुन्छ । पानी जहाजको कार्यालय खुल्यो कि स्टिमर चल्यो ,’ ओलीले भनुनुभयाे ।

राष्ट्रिय विकास परिषद्को बैठकमा राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोँचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिने बताइएको छ । बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, मन्त्रालयका सचिवहरु, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेश सचिवहरु, महानगरपालिकाका मेयर, अर्थविदलगायत सहभागि छन् ।

आयोगले समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोँचलाई आधार मान्दै दीर्घकालीन सोँचसहितको पन्ध्रौं योजनाको मस्यौदा पेश गरेकाे छ ।