काठमाडौँ, नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको छ । प्रहरी प्रवक्ता सुवेदीले राज्यविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए । ‘पक्राउ परेकालाई अनुसन्धान गरेर केहीलाई छाडेका छौँ र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौँ’, उनले भने ।

विप्लव समूहले फागुनमा ललितपुरमा गराएको बम विष्फोटबाट एकको निधन भएको थियो भने यसभन्दा पहिलेका  बिभिन्न  घटनामा दुईको मृत्यु भएको थियो ।

– रासस