काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको अर्धमहाकुम्भ मेलाको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ । सुनसरीको चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुवै जना सहभागी नहुने  हुनुभएकाे हाे।

शनिबारदेखि सुरू हुन लागेको अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए पनि माैसममा भएकाे खरावीका कारण स्थगित गरिएको हो । मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभएकाे छ। ‘प्रधानमन्त्री चतरा जाने कार्यक्रम तय भए पनि शनिबारको मौसममा खराबी आएकाले स्थगित भएको छ’, प्रेस संयोजक अधिकारीले भन्नुभयाे ।

अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगितपछि उहाँले आफ्नो लिखित सम्बोधन पठाउनुभएकाे छ । प्रधानमन्त्रीले पठाएको लिखित सम्बोधन आयोजकले पढेर सुनाउने संयोजक अधिकारीले बताउनुभयाे ।

यसअघि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि उक्त कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर, उहाँले पनि अन्तिममा आएर माैसमकै कारण कार्यक्रम स्थगित गर्नुुभएकाे छ ।

प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सहभागी हुने कार्यक्रम अन्तिममा आएर स्थगित भएपछि आयोजकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गराउने तयारी गरेको राईका प्रेस संयोजक ध्रुव सुवेदीले बताउनुभएकाे छ ।