काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा भएका सबै परिवर्तन दलहरुबीचको सहमतिले सम्भव भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि पनि दलहरुबीच सहमतिबाटै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ। बिहीबार चितवनको भरतपुरमा सञ्चालनमा आएको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे धारणा राख्नुभएकाे हाे ।
अध्यक्ष प्रचण्डले सहमतिको विकल्प नभएकाले सहकार्य गर्दै अघि बढ्न आग्रह गर्नुभएकाे हाे । विगतमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधान निर्माण पनि सहमतिबाटै सम्पन्न भएकाले अब पनि सहकार्यको विकल्प नभएको प्रचण्डको जिकिर थियाे।
अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनमा भएको सहकार्य अब मुलुकको समृद्धिका लागी अनिवार्य रहेकोमा जोड दिनुभयाे। उहाँले सत्तापक्ष र प्रतिपक्षी नभनि सहकार्य गर्नेहो भने समृद्धिको सपना पुरा हुन धेरै समय नलाग्ने बताउनुभयाे। संविधान निर्माणपछि समृद्धिको यात्रा तय भईसकेकाले आगामि १० वर्षमा मुलुकले धेरै कोल्टे फेर्ने उहाँको भनाइ थियाे।
प्रचण्डले निर्वाचनपछिको छोटो समयमा कानुन निर्माण लगायत दिर्घकालीन कामहरु भएकाले समृद्धिको गतिले अब तिब्रता लिने विश्वास व्यक्त गर्नुभयाे । सरकार, प्रतिपक्षी दल लगायत सवै राजनीतिक दल, निजी क्षेत्र तथा विभिन्न सरोकार पक्षविचको सहकार्यबाट मात्रै समृद्धि प्राप्त हुने उनको भनाई थियो।
चितवनबाट प्रतिनिधि सभा सांसद रहेका प्रचण्डले निजि क्षेत्रसँगको सहकार्यबाट मात्रै मुलुकको आर्थिक विकासले फड्को मार्ने बताउनुभयाे। उहाँले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लगायत विभिन्न किसिमका रेकर्डहरु बन्दैगएको अवस्थामा मनोरञ्जनका लागी पनि देशकै ठुलो फनपार्क बनेर अर्को रेकर्ड कायम भएको भन्दै यसले आफूलाइ खुशी लागेकाे बताउनुभयाे।
उहाँले चितवनलाई सिंगापुरको सान्तोषा बनाउन सकिने बताउनुभयाे। चितवन देशकै केन्द्र भागमा रहेकाे हुनाले हरेक क्षेत्रमा पर्यटनकाे विकासमा महत्वपूर्ण याेगदान पुर्याउने उहाँको भनाइ थियाे। त्यस्तै युवाहरुकाे प्रशंसा गर्दै उहाँले युवाले विदेश गएर हैन स्वदेशमै बसेर देश विकासमा लाग्न आग्रहसमेत गर्नुभएकाे छ।