काठमाडौं, त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्न प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु निर्वाचन हुन नसकेपछि त्रिभुवन विश्वविद्यालयले नयाँ मिति प्रस्ताव गरेकाे हो ।

बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो । छलफलमा समिति अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा.डा. सुधा त्रिपाठीले परीक्षा लगायतका कार्यक्रम नभएकाले जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्नु उपयुक्त हुने बताउनुभएकाे थियाे । साथै उहाँले निर्वाचनका लागि विश्वविद्यालयलाई सबै विद्यार्थी संगठनहरुको साथ र समर्थन चाहिएको पनि बताउनुभयाे।

अनेरास्ववियू (क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले  बैठकमा केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिका पदाधिकारीले छिट्टै ठोस मिति तोक्ने बताएकाे लेफ्टरिभ्युलाइ जानकारी  दिनुभयाे । बैठकमा सहभागी सबै विद्यार्थी नेताहरु स्ववियु निर्वाचन गर्न सकारात्मक रहेकाे उहाँकाे भनाइ थियाे ।

बैठकमा नेविसंघका प्रतिनिधि उपस्थित नभएका कारण मिति ताेक्ने काम नभएकाे नेता बस्नेतले जानकारी दिनुभयाे । भर्खरै कार्यसमिति भंग भएकाले  नेविसंघ प्रतिनिधि बैठकमा प्रतिनिधित्व नभएको बताइएकाे छ । बैठकमा नेकपा सम्बद्ध अनेरास्ववियु र अखिल (क्रान्तिकारी) तथा मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी हुनुहुुन्थ्याे।

यसैगरी नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन, संघीय समाजवादी फोरम निकट समाजवादी विद्यार्थी फोरम, राजपा निकट विद्यार्थी संगठन, नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपा निकट राप्रविसं, राप्रपा संयुक्त निकट राप्रविसं (संयुक्त), आदिवासी जनजाति विद्यार्थी महासंघ र नेपाल प्रगतिशिल विद्यार्थी युनियनका प्रतिनिधि बैठकमा सहभागी थिए ।