Bheri Babai Diversion Multipurpose Project
 

काठमाडौं । तोकिएको समयभन्दा झण्डै एक वर्ष अगावै सुरूङ निर्माण कार्य सम्पन्न भएको नेपालको सबैभन्दा ठूलो सिँचाई आयोजना मध्ये एक तथा राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन् ।

प्रधानमन्त्री ओलीले सुरुङको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा बटन थिचेर टनेल बोरिङ मेसिन (टिबिएम) निकालेसँगै सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । सो कार्यक्रममा ऊर्जामन्त्री बर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पनि उपस्थिती रहेको थियो ।

विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाई विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माण कार्य एक वर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए ।

प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाई सुविधा पुर्‍याउने उद्देश्यले आयोजना शुरु भएको हो ।

सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ । त्यस्तै, ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युत गृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ ।

सिँचाई विभागले यहाँबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करिब ४ अर्ब तीन करोड र बाह्रै महिना सिँचाई उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ ।