काठमाडौँ । अखिल नेपाल किसान महासंघ र फियान नेपालको आयोजनामा ‘किसान अधिकार सम्बन्धी राष्ट्र संघको घोषणापत्र र नेपालको सन्दर्भ’ विषयक अन्तरक्रियाको आयोजना गरी ‘अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस’ मनाइयो ।
२०१८ डिसेम्बर १७ तारिखका दिनमा संयुक्त राष्ट्रसंघको महासभाबाट अनुमोदित भएको रनेपालले समेत समर्थन गरेको ‘किसान तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने अन्य जनसमुदायको घोषणापत्र’ र नेपालमा केही समय अगाडि मात्र जारी भएको ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५’को विषयमा छलफल र बहस भएको थियो ।
अखिल नेपाल किसान महासंघका महासचिव तथा राष्ट्रिय सभाका सदस्य बलराम बाँस्कोटाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा किसान महासंघका उपाध्यक्ष तथा पूर्व कृषि मन्त्री हरि पराजुली, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का सचिव नहेन्द्र खड्का, अखिल नेपाल किसान महासंघ (राजमो निकट) का अध्यक्ष भैरव रेग्मी, मानवअधिकारवादी नेता तथा दलित अभियन्ता गणेश बि.क., कृषि विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदी, फियान इन्टरनेशनलका अध्यक्ष सर्वराज खड्का, दक्षिण एसियाली गरिबी निवारण मञ्चका संयोजक डा. नेत्र तिमिल्सिना, एमटिसिपी-२ का दक्षिण एसियाका परामर्शदाता डा. केशव खड्का, मानव अधिकार सञ्जालका महासचिव पदम खतिवडा, कृषक समूह महासंघका महासचिव नवराज बस्नेत लगायतका नेताहरूले आफ्ना विचार राख्नु भएको थियो भने किसान महासंघका केन्द्रीय सदस्य प्रमेश पोखरेल र फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहले प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रमका वक्ताहरूले अप्रिल १७ ब्राजिलका किसानहरूको बलिदानीपूर्ण संघर्षको स्मरण गर्दै अन्तराष्ट्रिय किसान आन्दोलनमा यसको अत्यन्तै ठूलो महत्त्व रहेको जानकारी दिए । साथै किसान तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसमुदायको घोषणापत्र अत्यन्त उपयोगी भएको, नेपाल सरकारले नेपालको सन्दर्भमा ‘किसान अधिकार ऐन’ जारी गरी तत्काल लागू गर्नुपर्ने र त्यसका लागि मिलेर संघर्ष गर्नुपर्नेमा सबैको जोड रहेको थियो । नेपालको कृषिको विकास खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको ऐनको कार्यान्वयनबाट मात्र संभव रहेको सहभागीहरुको निष्कर्ष थियो ।
अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसको सन्दर्भमा आयोजना गरिएको सो कार्यक्रममा किसान आन्दोलनका शहीदहरुलाई सम्झनुका साथै उनीहरुप्रति सम्मान व्यक्त गरियो । कार्यक्रममा नेपालको कृषि क्षेत्र तथा किसान आन्दोलनको क्षेत्रमा संलग्न विभिन्न किसान संगठनहरु, किसान सञ्जाल, खाद्य अधिकार सञ्जाल, कृषि विकास मन्त्रालय लगायतका विभिन्न क्षेत्र तथा निकायबाट प्रतिनिधिहरुको उपस्थिति थियो ।
ब्राजिलको एल्डोराडो डोस काराजस मा सन् १९९६ अप्रिल १७ का दिन भूमि अधिकार र सिमान्तकृत कृषकको अधिकार रक्षा गर्न संघर्ष गरेका १९ किसानको नृशंस हत्याको विरोधमा र किसानको आफ्नो संघर्षको ऐतिहासिक संझनामा यो दिवस प्रत्येक वर्ष यसै दिन मनाइन्छ ।
अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) का अनुसार अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस विश्वका विभिन्न ८० भन्दा बढी देशका २५० भन्दा बढी ठाउँमा ला भियाका सदस्य संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी मनाए ।