चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको परिवर्तन ००७ सालको, ०१७ सालको ०४६ सालको जस्तो नभएको बताउँदै अहिले संघीय शासन कमजोर हुँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो ।
लगानी केन्द्रीकृत गर्नको लागि आज भरतपुरमा भएको निजी क्षेत्रसँग अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसलाई कमजोर पार्नुहँदैन, पार्न दिनुहुँदैन, यसलाई मजबुत बनाउनुपर्छ । प्रदेश ३ ले जुन कार्यक्रम गरेर संघीयता बलियो बनाउन खोजेको छ, यो सह्रानीय हो ।’ उहाँले हाम्रा बाबुबाजेले खाद्यान्न निर्यात गर्थे, तर अहिले आयत भइरहेको बताउँदै भन्नुभयो, ‘अबको शिक्षा पनि प्रविधिमैत्री बनाउनुपर्छ ।’
निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न नसके विकास दिवास्वप्न हुने बताउनुभयाे । ‘सरकारले निजी क्षेत्रसँग इमान्दारिता प्रस्तुत गर्नुपर्छ, विश्वासमा लिन सक्नुपर्छ, नत्र विकास र समृद्धिको सपना नदेख्दा पनि हुन्छ ।’ उहाँले विगतका समयमा सरकार र निजीक्षेत्रको दुरी नजिक हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा उहाँले भन्नुभयो, ‘विगतको समयमा सरकार निजी क्षेत्रलाई दुहुनो गाईको रुपमा लियो, यिनीहरु ठग नै हुन् भन्नेमा गयो । निजी क्षेत्र पनि कताबाट हुन्छ, कर छल्नतर्फ उन्मुख भयो जसको कारण विकास अगाडि बढ्न सकेन ।’ उहाँले अहिलेको वातावरण विल्कुल फरक रहेको बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘निजी क्षेत्र र सरकार दुबैले इमान्दारी देखाउन आवश्यक छ, दुबै सँगसँगै हिँड्न आवश्यक छ, तबमात्र देशको विकासले गति लिन्छ ।’
अध्यक्ष प्रचण्डले लगानीमैत्री र विकासमैत्रीतर्फ ध्यान गएको बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘१०४ वर्ष राणाशासनमा पनि केन्द्रीय शासन, पछिल्लो ७० वर्ष पनि केन्द्रीय शासन तर देशको विकासले गति लिएन । अबको शासन फरक हो, घरघरमा सरकार पुगेको छ ।’