काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक वर्षभित्र पार्टीको महाधिवेशन गरी सक्ने बताउनु भएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताउनुभयाे। जिल्ला कमिटीका अध्यक्ष र सचिवकाे टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै उहाँले अब तलैसम्मका पार्टी कमिटीलाइ गतिशील बनाउनुपर्ने धारणा राख्नुभयाे।

आइतवार राजधानीकाे कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा आयाेजित कार्यक्रमलाइ सम्बाेधन गर्दै उहाँले भन्नुभयाे – ‘अब हामी एक छिन पनि ढिलो गर्न सक्दैनौं । हामीले हिजो सचिवालय (समितिको बैठक) मा पनि भनेका छौं । ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै सम्मेलन सक्नेछौं र एक वर्षभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ ।’ पार्टीकाे अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी र जालझेलका विरुद्धकाे अभियानका रुपमा लैजानुपर्ने उहाँकाे भनाइ थियाे ।

जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाउनुलाइ उहाँले पार्टी एकताको अन्तिम फलामे ढोका फोरेको बताउनुभयाे । पार्टी एकता टुंग्याउन विभिन्न कार्यदल बनाए पनि गाँठो झन् कस्सिदै गएको भन्दै उहाँले पछि पुरानै ठाउँमा फर्किएर एकता प्रक्रिया पूरा गरेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘ एकताकाे अन्तिम फलामे ढोका हामीले फोरिदिएका छौं । यो फलामे ढोकाजस्तै थियो । किनकी गाँठो हाम्रो त्यहीँनिर परेको थियो, मुख्य गाँठो फुकेपछि अरु गाँठो सजिलै फुक्नेछ । केही ढिलो भएकोमा क्षमा माग्दै हामीले मिसन कम्प्लिट गरेका छौं ।’

हिजोका दिनमा राम्राे गर्न खाेज्दा, राम्रो गर्छौ भन्दाभन्दै गाँठो कस्सिदै गएकाे भन्दै अध्यक्ष प्रचण्डले राम्रो गरौं भनेर कार्यदल बनाउँदा झन् गाँठो कसिदै गएकाे अनुभुति राख्नुभयाे । नयाँ गर्न खाेज्दा गाँठाे नफुकेपछि पहिलेकै ठाउँमा जाने र जे छ त्यसलाई जस्ताको तस्तै आत्मसाथ गर्ने याेजना बनाएपछि मात्र  आज यो ठाउँमा आइपुगेकाे उहाँकाे तर्क थियाे ।

अध्यक्ष प्रचण्डले सबैभन्दा जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा धेरै मेहनत गर्नुपरेको बताउनुभयाे । एकता प्रकृयामा ढिलाइ भएको स्वीकार्दै उहाँले अब भने यो प्रकृयाले पूर्णता पाउने दावी गर्नुुभयाे । शुभचिन्तकहरुको दबाबले एकता प्रकृयालाई सहयोग पुर्याएको भन्दै अध्यक्षले  त्यसका लागि सवैलाई धन्यवाद दिनुभयाे ।

आफूहरुले समाजवादको रणनीतिमा अघि बढ्ने योजना अघि सारेकाे भन्दै उहाँले याे आफैमा युगान्तकारी प्रयोग भएकाे टिप्पणी गर्नुभयाे । हिजोका बनिबनाउ विचार र सिद्धान्तले मात्र सामाजिक रुपान्तरण सम्भव नभएकाे बताउँदै उहाँले जरुरी पर्दा मात्रावाट गुणमा फड्को मार्ने आँट नगर्नेले क्रान्ति र परिवर्तनको नेतृत्व गर्न नसक्ने जिकिर  गर्नुभयाे ।

विचार र राजनीतिक रणनीतिलाई विकसित गर्दै अगाडि बढ्न नसक्दा जडसुत्रबादी र आत्मसमपर्णवादी गरी दुईवटा विकृति हावी हुने भन्दै उहाँले  विचारलाई महिमामण्डित गाउने प्रवृति संसारभर देखेकाे हुनाले नेपालमा  त्यसविरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनुभयाे । वस्तुवादी आवश्यक्तलाई टेकेर राजनीतिक सिद्धान्त अंगिकार गर्नुपर्ने उहाँकाे आशय थियाे ।

देशभित्र र बाहिरका प्रतिकृयावादी शक्तिहरुले नेपालको कम्युनिष्ट आन्दोलनकाे एकता र आक्रमक मोर्चालाई कमजोर पार्ने षड्यन्त्रका तानाबाना बुन्ने प्रयास गरेको हुनाले १२ बुँदे समझदारीमार्फत एउटा नया आन्दोलनकाे थालनी गरेकाे उहाँकाे स्पष्टाेक्ति थियाे । जनयुद्ध र जनआन्दोलनलाई एकअर्काको परिपुरक बनाउँदै ठूलो राजनीतिक रुपान्तरणमा बदल्न सफल  भएकाे उहाँकाे दावी थियाे ।

पहिलो संविधान सभा असफल भएपछि संविधानसभाबाट संविधान बन्छ त भन्ने प्रश्न उठेकाे र संविधान बन्न नदिने प्रयास भएकाे भए पनि आफूहरुले दोस्रो संविधानसभामार्फत संविधान बनाएकाे प्रसंग स्मरण गर्दै उहाँले फेरी यो संविधान कार्यान्वयन होला त भन्ने प्रश्न उठेपनि ति प्रश्नको सामना गरेकाे स्मरण गर्नुभयाे।

निर्वाचन सम्पन्न भएर तीनै तहको सरकार बनेपछि पनि यो निर्वाचनले स्थिरता र अराजकता अन्त्य होला, निर्वाचन सम्पन्न भएपनि ७० वर्षदेखिको अन्यौलता अराजकताहरु कायमै रहने हुन् कि भन्ने प्रश्न कायमै रहेकाे अवस्थामा यीनै प्रश्नहरुको जवाफ दिन दुई ठूला कम्युनिष्ट पार्टीले कुनै न कुनै कदम  नचाले देशका निम्ति दुर्भाग्य हुनसक्छ भनेर पार्टी एकता गर्ने संकल्प गरेकाे स्मरण उहाँले गर्नुभयाे ।

एकताको संकल्प गरेपछि पनि एकता टिक्दैन भन्दै आदि इत्यादि आशंका पैदा गर्ने र एकता रोक्न आन्तरिक र बाह्य अनगिन्ती प्रयास गरिएकाे भन्दै उहाँले भन्नुभयाे – ‘हामीले जनतामा गरेको प्रतिबद्धता अनुसार एकता घोषणा गरेरै छाड्यौँ । सानो मेहनत र विवेकले एकता भएको होइन ।हामीले भने अनुसारको गतिमा एकता नटुङ्गिदा फेरी प्रश्नहरु उठेका थिए । ति सबै प्रश्नहरुकाे जवाफ  समयले दिँदै जानेछ ।’