गोरखा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्ला जनपरिषद् प्रमुख विष्णु रिजाल र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे छन्।
प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका रिजाललाई राजद्रोह अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने बताइएकाे छ ।
त्यस्तै पक्राउ परेका विद्यार्थी नेता पाण्डेलाई धादिङको एनसेल टावरमा क्षति पुर्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पठाइएकाे प्रहरीले जनाएकाे छ । पाण्डेलाई आइतबार जिल्लाको भीमसेन थापा गाउँपालिका–६ अश्राङबाट पक्राउ गरिएको थियाे ।