काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जान लाग्नुभएकाे छ । चीनको बेईजिङमा आयोजना हुने ‘बेल्ट एण्ड रोड’ (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जान लाग्नुभएकाे हाे ।
राष्ट्रपतिकाे चीन भ्रमणका क्रममा २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूचि तय गरिएको राष्ट्रपतिकाे सचिवालयले जनाएकाे छ। त्यसैगरी केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम यसै वर्षबाट गर्न सहमति गर्ने, जनशक्ति निर्माणका लागि आवश्यक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि चीनसँग समझदारी गर्ने जस्ता तयारी गरिएकाे पनि सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा तातोपानी नाकासंग सम्बन्धीत विषयमा छलफल हुने पनि बताइएकाे छ। चीन सरकारले आगामी मे महिना भित्र तातोपानी नाका खुलाउने गरी त्यहाँको विकास निर्माणको काम अघि बढाएको छ।
राष्ट्रपति भण्डारीकाे राजकीय भ्रमणमा दुई मुलुकबीचको आर्थिक साझेदारीको विकासलाई जोड दिने तयारी रहेकाे छ। राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहनेछ।
राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने बताइएकाे छ।