Krishna Bahadur Mahara Amarsingh, कृष्णबहादुर महरा
 

काठमाडौँ । स‌ंघीय संसदका सभामुख कृष्णबहादुर महरालाई क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको भन्दै षड्यन्त्रमूलक ढंगले गरिएका भ्रामक प्रचार तथा कपोलकल्पित समाचारहरूको खण्डन गरिएको छ । हिजो सभामुख महराको सचिवालयले  एक विज्ञप्ति प्रकाशित गरी झूठा समाचारहरूको खण्डन गरेको हो ।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लद्वारा जारी विज्ञप्तिमा ‘क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको भनी सम्माननीय सभामुख कृष्णबहादुर महराको नाम जोडी केही अनलाइनहरुले निकै भ्रामक, कपोलकल्पित र छुद्र आरोप लगाई भ्रम फैलाउन गरेको कुकृत्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै, “सभामुखज्यूलाई लगाइएको उक्त निराधार आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु,” भनिएको छ ।

“उक्त घटनाका बारेमा सभामुखज्यूलाई कुनै जानकारी नै नभएको र प्रहरी तथा स्थानीय प्रशासनका कोही पनि अधिकारीसँग फोन सम्पर्क नै नभएको अवस्थामा उल्टै पक्राउ परेका व्यक्तिलाई छुटाउन दबाब दिएको भनी सभामुखज्यूको चरित्र हत्या गर्ने उद्देश्यले पत्रकारिताको नाममा गरिएको घृणित क्रियाकलापले मलाई निकै दुःखी बनाएको छ”, विज्ञप्तिमा उल्लेख छ, “उक्त घटनाका बारेमा लगाइएको आरोप प्रमाणित गर्न म सम्बन्धित अनलाइनहरु र सञ्चालकलाई चुनौति दिन चाहन्छु ।”

भद्र, शालिन तथा विवादमा आउन नरुचाउने स्वभावका सभामुख महरामाथि जनविरोधी शक्तिहरूद्वारा पटक पटक चरित्र हत्या गर्नका लागि क्रिश्चियन धर्मसँग जोड्ने गरिएको छ । सोही कुरालाई इङ्‌गित गर्दै हिजो सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा चरित्र हत्या गर्ने, बार्गेनिङ गर्ने र भ्रम फैलाउने जस्ता गलत नियतबाट गरिने धन्दा कहिल्यै पनि पत्रकारिता हुन नसक्ने दावी गर्दै पत्रकारिताको न्यूनतम मूल्यमान्यताको पालना गर्न सम्बन्धित अनलाइन सञ्चालकहरुलाई आग्रह गर्दै पटक–पटक सुनियोजित ढंगले सभामुखज्यूमाथि गरिएको हमलाको उचित कानूनी उपचारको बाटो खोजिने पनि बताइएको छ ।

Khandan from the secretariat of speaker Krishna Bahadur Mahara