काठमाडौं, नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका पदाधिकारीले आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन्।
महासंघले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउनुपर्ने र नेपाली सञ्चार माध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता र सुविधा दिनुपर्नेमा जोड दिएको छ।
सोही अवसरमा अध्यक्ष प्रचण्डले संविधानसभा, गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी, शान्ति र सुशासनलगायतका मुद्दामा पत्रकार महासंघ र आम प्रेस जगतले खेलेको भूमिकाको प्रशंसा गर्नुभयाे । अध्यक्ष प्रचण्डले प्रेससम्बन्धी संविधानमा उल्लेख भएका विषय पत्रकार र प्रेस अनुकूल नै भएको बताउँदै महासंघले उठाएका सवाललाई पार्टीभित्र छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।
महासङ्घले राखेको ध्यानाकर्षण पत्रले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को धारणालाई सहयोग पुग्ने उहाँको भनाइ थियो ।