काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे – ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।’
उहाँले सामाजिक सञ्जाल प्रयोगमा गलत प्रवृत्ति देखिएको भन्दै त्यसलाई निस्तेज पार्ने समेत बताउनुभयाे । प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यम बनाएको प्रधानमन्त्रीकाे गुनासाे थियाे । उहाँले भन्नुभयाे – ‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो । त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताउनुभयाे । ‘केही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो ।’ उहाँले ठट्याैली पारामा सुनाउनुभयाे ।
प्रधानमन्त्री ओलीले नेपाली समाजले सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताउनुभयाे ।ओलीले भन्नुभयो – ‘मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो । यो डिजिटल नेपाल तर्फको यात्रा हो ।’ प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सहज बन्ने प्रधानमन्त्री ओलीको भनाइ थियाे ।