काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गामा बेइमानी गर्नेलाई सरकारले ठेगानमा ल्याउने बताउनुभएकाे छ । बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सरकारले यो विषयमा पिठ्यु नफर्काउने बताउनुभएकाे हाे।
नियमित पत्रकार सम्मेलनमा वाेल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री वाँस्काेटाले भन्नुभयाे – ‘सार्वजनिक जग्गामा वेइमान गरेको कुरामा सरकार सचेत छ । सरकार यो विषयमा आँखा चिम्लिनेवाला, आँखा झिम्क्याँउनेवाला, पिठ्यु फर्काउनेवाला छैन । सरकार आफैंले छानविन समिति बनाएर तथ्य बाहिर ल्याउँदा उल्टै सरकारलाई लखेट्ने काम भएको छ ।’
उहाँले यही सरकारले सो जग्गाबारे छानविनका लागि समिति बनाएर तथ्य बाहिर ल्याएको बताउँदै पार्टीका महासचिव विष्णु पौडेलको नाम देखिने बित्तिकै सरकारलाई लखेट्ने काम भएको आराेप लाउनुभयाे । उहाँले सो प्रकरणमा अरु थुप्रै भएपनि विष्णु पौडेलमाथि मात्रै धनु चलाउने काम भएको उल्लेख गर्दै विषय विष्णु पौडेल, सुवर्ण शम्शेरको मात्र नभएको सुनाउनुभयाे।
उहाँले भन्नुभयाे – ‘कोही प्रति रिसिइवी गर्न उत्खनन् गरेको हैन, यो सुशासन र सरकारी सम्पति भित्रको विषय पर्छ । चारतारे वा लालतारे जो सुकै पर्नुस् तथ्य प्रमाणले जसलाई देखाउँछ, कसैलाई छोड्दैनौ, यो सरकारको स्यान्ड हो ।’
मन्त्री बाँस्कोटाले आफूले विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिनुपर्छ नभनेको उल्लेख गर्दै सो प्रकरणमा काँग्रेस सभापति देउवा वा नेकपा महासचिव पौडेल भएपनि सरकारले क्षतिपूर्ति नतिर्ने बताउनुभयाेे। सो प्रकरणमा गल्ती छ भने पौडेल पनि जान्छन्, देउवा पनि जान्छन् । यहाँ देउवा जोडिनुभयो सरकार पूर्वाग्राही भयो भन्न थालियो, विष्णु पौडेल जोडिँदा चाही कसरी अपराधी हुनुभयो ? उहाँकाे प्रश्न थियाे ।
लालपूर्जामा महासचिव, सभापति वा पूर्व प्रधानमन्त्री भनेर नलेखेको बताउँदै बेइमान गरेको कुरालाई ठेगान लगाएरै छाड्ने उहाँले ठाेकुवा गर्नुभयाे । सार्वजनिक जग्गा सुरक्षा गर्ने मत स्थापित गरेकाले यो विषयलाई नरोकी अगाडि बढाउने उहाँकाे आशय थियाे । सरकारलाई अन्त अन्त पनि विभिन्न ठाउँमा सार्वजनिक जग्गा मिचिएकाे भन्ने सूचना आएको हुनाले देशभरिको जग्गा छानविनका लागि उच्चस्तरीय छानविन आयोग बन्न सक्ने उहाँकाे भनाइ थियाे ।