काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले पाटन अस्पतालमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढा लाई भेटी स्वास्थ्य स्थितिको जानकारी लिनु भएको छ ।
आज (शुक्रबार) बिहान पाटन अस्पताल, ललितपुर पुगेर सभामुख महराले पूर्वसांसद बुढाको स्वास्थ्य स्थितिको जानकारी लिनुका साथै उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।
पेटमा समस्या देखिएपछि हिजो पाटन हस्पिटलमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार चलिरहेको बुढाकी छोरी विजयज्योतीले बताउनुभयो ।
भेटमा सभामुख महराले पूर्वसांसद बुढालाई धेरै चिन्ता नगर्न आग्रह गर्दै चाँडै ठीक हुने विश्वास व्यक्त गर्नुभयो । सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेटी पूर्वसांसद बुढाको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गर्नुभयो ।
माओवादी जनयुद्धको उद्गम थलोको रुपमा रहेको रोल्पाको थबाङका पाका कम्युनिष्ट नेता बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनका बलियो खम्बाकै रुपमा रहनुभएको छ । उहाँ २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नं. १ बाट विजयी हुनुभएको थियो ।